उपप्रधानमन्त्री निधि र भारतीय पूर्वप्रधानमन्त्री भेट
प्रतिआतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतका पूर्ब प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।
सिंहको निवासमा भएको भेटमा दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा कुराकानी भएको थियो ।
भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको र सिंहले नेपालमा राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै भारतले नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएको निधिका प्रेस सल्लाहकार रामजी दहालले जानकारी दिए ।
भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।
आजै गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
निधिले लामो सयमदेखि अस्वस्थ रहेका त्रिपाठीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।