राजनीतिले नदिएको सन्तुष्टि
- मुकेश पोखरेल
राजनीतिक दल नीति होइन नेताबाट सञ्चालित हुन थालेपछि समाज रुपान्तरणका लागि राजनीतिमा होमिएका कतिपय नेता, कार्यकर्ता व्यावसायिक कृषिमा लागेका छन्।
'सांसद् भइसकेको मान्छे काठमाडौं नबसी किन गाउँ बस्नुभएको?' भेटिएका सबै उनलाई यही प्रश्न गर्थे। गाउँमा गाईपालन र तरकारी खेतीमा रमाएका उनलाई कतिपयले त 'बुद्धि बिग्रेको' सम्म भन्न भ्याए। तर, २०५१ सालमा गुल्मी–२ बाट निर्वाचित कमल श्रेष्ठ राजधानी होइन थानापतिमै रमाएका छन्।
'काठमाडौं किन नबसेको भन्नेहरू नै अहिले व्यावसायिक खेतीबारे सल्लाह लिन आउँछन्', १४ वर्षसम्म नेकपा (एमाले) को जिल्ला नेतृत्वमा रहेका श्रेष्ठ भन्छन्। राजनीतिका अगुवाबाट अगुवा किसानको छवि बनाएका उनले २०६३ सालमा १० वटा गाई किनेर पशुपालन थालेका थिए। यतिबेला उनले पाँच रोपनी बारीमा बेमौसमी गोलभेंडा, काउली, सिमी, काँक्रो र बोडी रोपेका छन्। एक हजार कुखुरा पनि पालेका छन्। “नेताका गुट उपगुटमा अल्झ्न मन लागेन”, श्रेष्ठ भन्छन्, “कसैको कृपाबाट होइन, आफ्नै नंग्रा खियाएर खान्छु भनेर खेतीपातीमा लागें।”
२०५१ सालमा जाजरकोट–१ मा कांग्रेसबाट निर्वाचित सांसद् हुन्, झ्लकनाथ वाग्ले। उनी २०५५ सालमा भूमिसुधार सहायकमन्त्री समेत बने। यतिबेला वाग्ले गृहजिल्लामै १८ रोपनी जग्गामा कुखुरा, माछा, तरकारी र पशुपालनको तयारीमा छन्।
राजनीतिबाट १० वर्षअघि नै मोहभंग भएका वाग्लेले २०६१ सालमै राजधानीमा खाजा पसल खोलेका थिए। “राजनीति विचार र आस्था होइन, पैसा र बलको खेल रहेछ”, वाग्लेको बुझाइ छ।
तीन वर्षसम्म पसल चलाएका उनी बाबुराम भट्टराई सरकारले बायो डिजल उत्पादन अभियानलाई प्रोत्साहित गर्ने भनेपछि दाङको गोवडिहास्थित सरस्वती उच्च माध्यमिक विद्यालयको १० बिघा जग्गा भाडामा लिएर सजिवनको बिरुवा उत्पादनमा लागे। “तर, आफ्नै पार्टीको सरकार बनेपछि बायो डिजलको कुरा हरायो, मेरो १२ लाखजति लगानी पनि डुब्यो”, वाग्ले भन्छन्।
'सास छउञ्जेल राजनीति', नेपाली राजनीतिको कटु यथार्थ हो। यही नारालाई आत्मसात् गर्दै राजनीति गर्ने पुस्ता बाँकी नै छन्। तर, रमाइलो त के छ भने राजनीतिमा सिद्धान्त र आस्था सकिएको भन्दै खाईपाई आएको पद र प्रतिष्ठा त्याग गर्नेहरूको सूचीको पनि कमी छैन। श्रेष्ठ र वाग्ले त उदाहरण मात्र हुन्।
धोकाधडी राजनीति
राजनीतिज्ञले बिर्सिए पनि राजनीतिले नबिर्सने एउटा नाम हो, लक्ष्मी कार्की। पोखराको पृथ्वीनारायण क्याम्पसबाट राजनीति थालेकी कार्की २०४४ सालमै अनेरास्ववियूको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख बनिन्।
२०४६ सालको जनआन्दोलनमा कार्कीको योगदानको चर्चा अहिले पनि सम्झ्ने गरिन्छ। २०४७ सालमा अखिल नेपाल महिला संघको केन्द्रीय सचिवसमेत बनेकी उनै कार्की त्यसयता भने राजनीतिक परिदृश्यबाट एकाएक हराइन्। “विवाह र सन्तानको जिम्मेवारीले केही समय टाढा हुनुपर्यो,” कार्की भन्छिन्, “जब समय अलि सहज भयो, पार्टीले मेरो आवश्यकता ठानेन।” महिला कार्यकर्ताको लैङ्गिक संवेदनशीलतालाई पार्टीले नबुझेको गुनासो गर्ने उनी अहिले गैर–सरकारी संस्थामा परामर्शदाताको रूपमा काम गर्छिन्।
एउटै पार्टीभित्रका नेताका स्वार्थ र विभाजनका कारण पनि राजनीतिलाई सेवा ठान्नेहरू विमुख बनेका छन्। तिनैमध्येका एक हुन्, मोरङका ढालुराम माझी। २०५९ सालमा सधैंका लागि राजनीति छाड्नुअघिसम्म माझी मोरङ–६ का नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सभापति थिए। तर, अहिले उनको परिचय नेताबाट कागती कृषकमा बदलिएको छ। पार्टी विभाजनपछि विरक्तिएर राजनीति छाडेका उनले २०६४ सालमा कागती खेती थालेका थिए। अहिले उनको कागती खेती दुई बिघामा फैलिएको छ। यस वर्ष कागतीको फल, बिरुवा र अचार बेचेर माझीले रु.२५ लाख कमाए। कागतीको आम्दानीले कागती खेतीकै लागि यसै वर्ष रु.१ करोडमा पाँच बिघा खेत किने। “नेताहरूबीचको खुट्टा तानातान र खिचातानीले राजनीति गर्न मन लागेन”, डङग्रहा गाविस अध्यक्षसमेत बनेका माझ्ी भन्छन्, “नेता वरिपरि घुम्नेलाई मात्र राजनीति ठीक रहेछ।”
एमालेबाट २०५६ सालमा गुल्मी–१ बाट निर्वाचित सांसद् फटिक थापा मगरको मन पनि राजनीतिमा अडिएन। अहिले उनी ज्येष्ठ नागरिक अधिकार स्थापित 'नेपान' संस्था सञ्चालन गरिरहेका छन्। सांसद् हुनुअघि उनी पार्टीको जिल्ला सदस्य थिए। “राजनीतिलाई ठगिखाने भाँडो बनाएपछि मन मर्यो”, मगर भन्छन्, “त्यसैले समाजसेवामा लागेको हुँ।”
२०४०–४२ सम्म अनेरास्ववियू (पाँचौं) को अध्यक्ष भएका रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा छैनन्। रेडक्रस कास्कीमा जागिरे भएर केही समय काम गरेपछि उनी जिल्लाकै विभिन्न गैरसरकारी संस्थामा काम गरे। ज्ञवाली एक वर्षदेखि अमेरिकामा छन्। “पार्टीमै हुनु मात्र राजनीति गर्नु होइन”, अनलाइन सम्पर्कमा आएका ज्ञवाली भन्छन्, “अधिकारमुखी काम गर्नु आफैंमा राजनीति हो।”
प्रेरणा स्रोत
गुल्मीका कमल श्रेष्ठ व्यावसायिक कृषि गर्न चाहने धेरैका लागि प्रेरणा स्रोत बनेका छन्। “अरूले पनि व्यावसायिक कृषि गरून् भन्ने मेरो अभिप्राय हो”, श्रेष्ठ भन्छन्।
तीन वर्षअघि पाल्पाबाट अनारका ५० वटा बिरुवा लगेर थानापति गाविसमा व्यावसायिक फलफूल खेतीको शुरूआत गरेका श्रेष्ठले यस वर्ष 'भागवा' जातका २५० बिरुवा लगाएका छन्। श्रेष्ठसँगै थानापतिका २० जनाले यसै वर्षदेखि अनार लगाउन शुरू गरेका छन्।
श्रेष्ठबाट प्रभावित भई नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वअध्यक्ष निरज मरासिनी पनि व्यावसायिक कृषिमा छन्। रेसुङ्गा साउने कृषि तथा पशुपालन फार्म खोलेर मरासिनी नेतृत्वको युवा समूह दूध, तरकारी र माछा उत्पादनमा लागेको छ। “राजनीतिले कंगाल बनाउँछ, उद्यम नै ठूलो कुरा हो”, तम्घासमा होटल सञ्चालन गरिरहेका उनी भन्छन्।
२०५२ सालमा अनेरास्ववियू (छैटौं) का महासचिव प्रेमसागर पौडेल अन्ततः पूँजीवादी सामाजिक व्यवस्थामा सिद्धान्तले मात्र व्यक्ति र समाज चल्न नसक्ने निचोडमा पुगे। अहिले उनी रूपन्देही पर्रोहामा बाख्रा फार्म र घाँसखेती गर्छन्। “सिद्धान्तले मात्र बाँच्न सकिंदैन भन्ने बुझ्ेर व्यवसायमा लागें”, उनी भन्छन्।
बाख्रा पालनमा यो क्षेत्रमै पौडेल सफल कृषक बनेका छन्। बाख्रा पाल्ने चाहना राखेर जिल्ला पशु सेवा कार्यालयमा पुग्नेहरू त्यसपछि पौडेलकै बाख्रा फार्ममा पुग्छन्। “बाख्रा पाल्न खोज्नेलाई पौडेलकै व्यवसाय हेर्न पठाउँछौं”, जिल्ला पशु सेवा कार्यालय, रूपन्देहीका प्रमुख गान्धीराज उपाध्याय बताउँछन्।
मोरङ्गका ढालुराम माझीको कागती फार्म हेर्न आउनेको भीड पनि बढिरहेको छ। “मेरो काम देखेर धेरै प्रभावित भएको बताउँछन्” माझी भन्छन्, “कतिपयले मसँगै बिरुवा किनेर खेती शुरू गरेका छन्।”
मदनपोखरा, पाल्पाका नगेन्द्रराज पाण्डेले यही वर्ष अनार बेचेर रु.४ लाख हात पारे। दुई वर्षअघि थाइल्याण्ड र भारतबाट २५० बिरुवा ल्याएर अनार खेती शुरू गरेका उनी भन्छन्, “उत्पादन राम्रो हुनेरहेछ, अब यसैलाई व्यवसाय बनाउने निर्णय गरेको छु।”
मदनपोखरा गाविसका पूर्व उपाध्यक्ष एवम् एमाले पाल्पाका पूर्व जिल्ला कमिटी सदस्य पाण्डेले पनि राजनीति छाडेको १२ वर्ष भयो। “कुनै वाद बोक्दिनँ, बरु नयाँ–नयाँ कृषिका जानकारी बोकेर देश दौडाहामा लाग्छु”, उनी भन्छन्।
हुनत राजनीति र श्रमलाई सँगसँगै लैजानुपर्छ भन्नेहरू पनि नभएका होइनन्। कम्युनिष्टहरूका लागि त यो मार्क्सवादकै मर्म हो। तर, व्यवहारमा राजनीति नै नेताहरूको पेशा र कमाइको माध्यम बनिरहेको छ। “राजनीति विकृत हुनुको कारकतत्व यही नै हो”, प्रेमसागर पौडेल भन्छन्।
दलका नेताले संगठनमा योगदानभन्दा चाकडीका आधारमा कार्यकर्तालाई मूल्यांकन गर्न थालेपछि निष्त्रि्कय बस्नेहरू पनि धेरै छन्। कमल श्रेष्ठ भने कार्यकर्ताको यही निष्त्रि्कयतालाई अवसरका रूपमा लिनुपर्ने बताउँछन्। “यो समयलाई सदुपयोग गर्नुपर्छ, यसले आत्मनिर्भर र आशावादी बनाउँछ।”