राखीमा बहिनीलाई चर्पी उपहार
बाराको सिम्रौनगढका एक पत्रकारले राखी (रक्षाबन्धन) का अवसरमा बहिनीलाई चर्पी उपहार दिएका छन् ।
सिम्रौनगढ नगरपालिका–७ का रामेश्वर मेहताले राखी बाँधीदिएकी बहिनी अञ्जु चौधरीलाई उपहार दिने क्रममा उनको घरमा चर्पी बनाईदिने भएका हुन् ।
चर्पीकोे अभावमा चौधरीे परिवारले खुल्ला स्थानमा शौच गर्नु पर्ने वाध्यता रहेकाले चर्पी बनाइदिने प्रतिवद्धता व्यक्त गरेको मेहताले बताए ।
“उनीहरु सबै नजिकैको जंगल जाने गरेका रहेछन्,” मेहताले भने, “जोखिम, स्वास्थ्य, सरसफाइ सबै दृष्टिकोणले चर्पी उपहार दिने निर्णयमा पुगेको हुँ ।”
उनले अबको तीन महिनाभित्रै बहिनीको घरमा पक्की शौचालय बनिसक्ने बताउने उनले आफ्नो उपहारले खुल्ला दिशामुक्त क्षेत्र अभियानलाई समेत सहयोग पुग्ने बताए ।
“राखीमा दाजुले बहिनीको रक्षा गर्ने कसम खान्छन् । बहिनीको स्वास्थ्यको रक्षा नै उनको रक्षा हो भन्ने मलाई लाग्छ । त्यसैले चर्पी उपहार दिएको छु,” मेहताले भने ।
रु १० हजारमा चर्पी तयार हुने उनको अनुमान छ ।
सुरेश बिडारी