रिपोर्टबिहिबार, २ भाद्र , २०७३

विदेशी बजारमा नेपाली एप

रामु सापकोटा

नेपाली युवाले बनाएका एपहरूको बजार समुद्रपारसम्म विस्तार भइसकेको छ।

इमाडोल, ललितपुरका अनिश श्रेष्ठ (२८) ले १० वर्षअघिसम्म सूचना तथा जानकारी दिने मोबाइल एपबारे कल्पना पनि गरेका थिएनन्। तर, यहीबीचमा आएको सूचना–प्रविधिको लहरले उनलाई एप निर्माताको रूपमा विश्व बजारमा पुर्‍याइदिएको छ।

सन् २०१२ मा पोखरा विश्वविद्यालयबाट 'ब्याचलर इन्जिनियरिङ इन आईटी' गरेका अनिशले अर्को वर्ष साथीहरू मनिषा कर्माचार्य, भाष्करराज श्रेष्ठ, मधुसूदन श्रेष्ठ र प्रेसा श्रेष्ठसँग मिलेर एप बनाउने काम शुरू गरे। शुरूमा उनीहरूले निकै मिहिनेत गरे, जसको फल मीठो भयो। उनको टीमले गत वर्ष गुगल अवार्ड नै जित्यो। 'इन्स्पाएरिङ स्टाटअप् स्टोरिज् कन्टेस्ट' मा गुगल अवार्ड जितेको अनिशको टीमले बनाएको 'एल्लो एप' ले रेस्टुरेन्टहरूको सेवा–सुविधाको जानकारी दिन्छ।

रुपारन एपका डेभलपर संरक्षण घिमिरे, ट्याक्सपट एपका डेभलपर तुलसी दाहाल।

अनिश र उनको टीमले नेपालमै बसेर विदेशी प्रयोगकर्ताहरूका लागि थुप्रै एप बनाइसकेका छन्। तीमध्येको एक 'इन्स्टामिमि' ले फोटो र टेक्स्ट (शब्द) मार्फत फन्नी एपहरू बनाउँछ। “यो मिनी फोटोशप हो”, अनिश भन्छन्, “यो एप अहिले अमेरिका, क्यानडा, बेलायत, फिलिपिन्स, इन्डोनेशिया, मेक्सिकोलगायतका १५ देशका प्रयोगकर्तामाझ्ा पुगेको छ।”

'इन्स्टामिमि' का कुल प्रयोगकर्तामध्ये अमेरिकामा ६५ प्रतिशत र नेपालमा दुई प्रतिशत रहेको अनिश बताउँछन्। यो आँकडाले एपको मुख्य बजार विदेश रहेको देखाउँछ।

एक से एक डेभलपर
नेपालका अर्का सफल एप र सफ्टवेयर डेभलपर हुन्, विश्वास ढकाल (३५)। गत १३ वर्षबाट ब्यांकिङ, कर्पोरेट र अन्य क्षेत्रका लागि एप डेभलप गरिरहेका उनको एफ् वान सफ्ट कम्पनी अहिलेको चर्चितमध्येको एक आईटी कम्पनी हो। एनसीआईटी कलेजबाट 'ब्याचलर इन इन्जिनियरिङ' गरेका जनकपुरका ढकालको १८० जनाको प्राविधिक टीमले हालसम्म ब्यांकिङ क्षेत्रका लागि ६० र कर्पोरेट क्षेत्रमा एक दर्जन एप बनाइसकेको छ।

नेपालमा लोकप्रिय बनेका ई–सेवा, लोडसेडिङ सेड्युल, ओहो बजार, शो टाइम जस्ता एप ढकालकै टीमले सञ्चालन गरेको हो। लोडसेडिङ सेड्युल १० लाख पटक, ई–सेवा तीन लाख पटक र ओहो बजार एक लाख पटकसम्म डाउनलोड भएको ढकाल बताउँछन्। उनको टीमले ल्याटिन अमेरिकाका ६ वटा कम्पनीका लागि एप बनाएको छ। तीमध्ये सबभन्दा चलेको एप 'क्यास अन एड' हो।

इन्स्टामिमि एपका डेभलपर अनिश श्रेष्ठ।

मोबाइल फोनबाट विज्ञापन गर्ने 'क्यास अन एड' १२ मुलुकमा बिक्री भएको ढकाल बताउँछन्। उनी ८ वर्ष अघिदेखि १७ देशका विभिन्न कम्पनी तथा संस्थाका लागि एप बेच्दै आएका छन्। उनका अनुसार, तीमध्ये धेरैजसो विश्वविद्यालय र मिडिया कम्पनीहरूले प्रयोग गर्ने एप छन्। नेपालमा सूचना र प्रविधिको क्षेत्रमा जनशक्ति बढे पनि गुणात्मक हुन नसक्दा विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने 'कमन' एपहरू धेरै बन्न नसकेको ढकालको भनाइ छ।

ढकाल जस्तै अर्का एप डेभलपर हुन्, संरक्षण घिमिरे (२८)। झापाका घिमिरेले कम्पनीहरूलाई मात्र केन्द्रित गरेर कर्पोरेट एपहरू बनाउँदै आएका छन्। 'बीएस्सी अनर्स इन कम्प्युटिङ' गरेर सन् २०१० बाट यस क्षेत्रमा लागेका उनले हालसम्म १२ वटा एप बनाइसकेका छन्। त्यसमध्ये जाभ्रा सफ्टवेयर, थ्री मंक, गोराटो वर्कलगायतका एप उनले विदेशी कम्पनीका लागि बनाएका हुन्। उनले बनाएका रुपारन, फ्रि किक्, मोटरस्पोर्टस् टिभी जस्ता एपमध्ये रुपारन बढी प्रयोगमा छ। संरक्षणले यो एप नेदरल्याण्डको जाभ्रा सफ्टवेयरका लागि बनाएका हुन्। उनी भन्छन्, “एप बेचेर राम्रै पैसा कमाएको छु।”

कमाइ छ, नियमन छैन
विदेशी कम्पनीहरूको लागि एप डेभलप गर्ने नेपाली युवाको संख्या बढ्दैछ र उनीहरूको कमाइ पनि राम्रो छ। अमेरिकाका विभिन्न कम्पनीका लागि सातवटा एप बनाइसकेका तुलसी दाहाल (२७) आईटी क्षेत्रमा काम गरेपछि पैसाको चिन्ता नहुने बताउँछन्। काठमाडौं विश्वविद्यालयमा 'मास्टर्स इन कम्प्युटर इन्जिनियरिङ' गरिरहेका उनी भोल्कस् सफ्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक हुन्।

क्यास अन एड एपका डेभलपर विश्वास ढकाल।

दुई वर्षअघि कम्पनी खोलेर प्राविधिक टीम बनाएका इटहरीका उनले अहिलेसम्म १२ वटा एप बनाएका छन्। तुलसी, सचिन थापा र नवराज गौतमको टीमले नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर ६ महीनाअघि बनाएको 'ट्याक्सपर्ट' को प्रयोगकर्ताको संख्या नौ हजार पुगेको छ। “कर सम्बन्धी हरेक खालका जानकारी दिने यो एप लोकप्रिय हुँदैछ”, तुलसी भन्छन्।

कुनै एप चल्नु वा बिक्री हुनु भनेको बनाउनेले पैसा कमाउनु हो। तर, नेपालमा एप तथा सफ्टवेयर बिक्रीवितरण सम्बन्धी कानून नबनेकोले यस क्षेत्रको कारोबारको नियमन हुनसकेको छैन। यसले गर्दा एकातिर यस सम्बन्धी कारोबारको जानकारी रेकर्ड हुनसकेको छैन भने अर्कातिर एप निर्माताहरू चाहेर पनि कर तिर्न वा पारदर्शी हुनसकिरहेका छैनन्। विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना तथा प्रविधि विभागका निर्देशक सुवास ढकाल सफ्टवेयर कम्पनी दर्ता गर्ने व्यवस्था समेत नहुँदा यसमा कुनै अनुगमन नभएको बताउँछन्।

नेपालका एप तथा सफ्टवेयर कम्पनीहरू कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको बाहेक अन्य कुनै निकायको नियमनमा छैनन्। नेपाली एप तथा सफ्टवेयर निर्माताहरूले विदेशी कम्पनीहरूसँग ब्यांकमार्फत कारोबार गरे त्यसको जानकारी हुन्छ, अरू माध्यम अपनाए केही थाहा हुँदैन। ढकाल भन्छन्, “अब सूचना तथा प्रविधिको क्षेत्रमा भएको कारोबारलाई नियमन गर्न ढिलाइ गर्नुहुँदैन।”

प्रतिकृया दिनुहोस