पर्सामा ‘अनर किलिङ’, बाबुद्वारा छोरीको हत्या
पर्साको महादेवपट्टी–३ का शिव मुखिया बिनलाई १४ वर्षीया छोरी प्रभाकुमारीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
१ भदौ राति प्रभाको हत्या उनका बाबु बिनले गरेको भन्दै छिमेकीले प्रहरीलाई खबर दिएपछि महादेवपट्टी चौकीको टोलीले २ भदौ बिहान उनलाई पक्राउ गरेको थियो ।
छोरीको गाँउकै एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफूले हत्या गरेको बिनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रभाको हत्या भएको भनिए पनि शव अझै फेला परेको छैन ।
गाउँका एक युवकसंग छोरीको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत जोगाउन उनको हत्या गरेर शव गाउँ नजिकै रहेको भारतको पचरौता जंगलमा फालिदिएको बिनले बयान दिएको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी जानकारी दिए ।
उनको बयानका आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाको टोली शव खोज्न जंगल गएको छ ।
प्रभाका आमा शारदा र दाजु राजकुमार मुखिया फरार छन् ।
शव फेला नपरेसम्म घटनाका बारेमा यकिनका साथ भन्न सकिने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
अंग्रेजी शब्द ‘ अनर किलिंग’ को अर्थ कुनै व्यक्तिलाई उसकै परिवार वा समाजका व्यक्तिद्वारा उक्त परिवार वा समाजको मानहानी हुने कार्य गरेको आरोपमा गरिने हत्या भन्ने बुझिन्छ । खासगरी ‘अनर किलिंग’ लैंगिक विभेदमा आधारित अपराध हो ।
सुरेश बिडारी, वीरगञ्ज