नेपाली फूटबल: 'नकआउट' मा निर्भर
९ फागुनमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले खप्तड गोल्डकप विजेताको पुरस्कार राशी रु.११ लाख ११ हजार १११ बनाउने घोषणा गर्यो। २१ पुसदेखि १ माघसम्म रु.७८ लाख कुल लागतमा खप्तड कपको सफल आयोजना गरेको क्लबले दोस्रो संस्करणका लागि पुरस्कार राशी दोब्बर बनाएको हो।
खप्तड गोल्डकपको पहिलो संस्करणको विजेता हुँदै रु.५ लाख हात पारेको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबले २५ माघमा रु.७ लाख राशीको रमपम झापा गोल्डकप र १५ माघमा रु.५ लाख राशीको आहा रारा गोल्डकपको उपाधिमा पनि कब्जा जमाएको थियो। अहिले मनाङ बङ्गलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेलेर फर्केको छ।
सात पटक शहीद स्मारक 'ए' डिभिजन लिगको उपाधि जितिसकेको मनाङ पछिल्लो चार वर्षयता यस्तै 'नकआउट' प्रतियोगितामै रुमल्लिरहेको छ। अखिल नेपाल फूटबल संघ (एन्फा) ले २०७० सालयता घरेलु लिग आयोजना नगरेपछि मनाङसँगै सबैजसो क्लबका लागि एक मात्र सहारा नकआउट प्रतियोगिता नै हुन पुगेका छन्। जानकारहरूका अनुसार, यतिबेला नकआउट प्रतियोगिताले नै नेपाली फूटबल चलायमान बनाइरहेको छ।
हुन पनि यो वर्ष झापामा मात्रै चार वटा (रमपम झापा, काँकडभिट्टा, सतासी र सुरुङ्गा) गोल्डकप आयोजना भए। “मुलुकको फूटबल नै जिल्लामा हुने नकआउट प्रतियोगिताहरूले धानेका छन्”, १९ वर्षदेखि धरानमा बूढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको धरान फूटबल क्लबका अध्यक्ष किशोर राई भन्छन्।
खेलाडीका सारथि
दुई दशकदेखि एन्फामा एकछत्र राज गर्दै आएका गणेश थापामाथि विश्व फूटबल महासंघ (फिफा) को प्रतिबन्ध र म्याच फिक्सिङ प्रकरणले थिलथिलो बनेको नेपाली फूटबलको मनोबल एएफसी सोलिडारिटी कप, बंगबन्धु कप, यू–१९ साफ च्याम्पियन र साफ च्याम्पियन बनेपछि ह्वात्तै माथि उठ्यो। तर एक वर्षमा चार–चार वटा उपाधि जिताउन सफल खेलाडीलाई व्यस्त बनाउन र नयाँ खेलाडी उत्पादन गर्न अत्यावश्यक घरेलु लिग भने भएन।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ भने १२ वैशाख २०७२ को भूकम्पले दशरथ रंगशाला क्षतिग्रस्त भएकाले त्यसयता लिग गर्न नसकेको बताउँछन्। तर, भूकम्पअघि २०७१ सालमा समेत लिग नभएकाले श्रेष्ठको तर्क बलियो देखिंदैन। एन्फाका एक पदाधिकारी भने गणेश थापाका कारण संस्था नै बदनाम र विवादित बनेकाले लिगका लागि प्रायोजक पाउन समेत हम्मे बनिरहेको बताउँछन्। उनका अनुसार, एन्फा नेतृत्वको ध्यान यतिबेला प्रतियोगिता भन्दा पनि निर्वाचनमा केन्द्रित छ। तर, एन्फा अध्यक्ष श्रेष्ठ आगामी चैतबाट लिग सञ्चालन गर्नेबारे क्लबहरूसँग छलफल भइसकेको दाबी गर्छन्।
एन्फाका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा भने रंगशालालगायतका परिस्थिति भन्दा पनि नियतकै कारण लिग नभइरहेको आरोप लगाउँछन्। “रंगशाला चाहिए एन्फाकै सातदोबाटोस्थित रंगशाला, सशस्त्र प्रहरी बलको हलचोकस्थित रंगशाला प्रयोग गर्न सकिन्छ”, उनी भन्छन्, “तर, एन्फा नेतृत्व लिग गर्नै चाहिरहेको छैन।”
नकआउट प्रतियोगिताले खेलाडीहरूलाई व्यस्त मात्र होइन आर्थिक रुपमा बलियो समेत बनाइरहेको छ। क्लबहरूले प्रति खेल खेलाडीलाई जनही रु.७ हजारदेखि रु.१२ हजारसम्म दिने गरेका छन्। लिग भइरहेको भए राष्ट्रिय टोलीमा स्थान बनाउन सफल प्रायः सबै खेलाडीले कम्तीमा मासिक रु.१ लाख कमाइरहेका हुन्थे। फूटबल विश्लेषक नवीन पाण्डे लिग नभइरहेका बेला नकआउट प्रतियोगिताले खेलाडी पलायन रोकेको बताउँछन्। “नकआउट प्रतियोगिता नभएको भए क्लबहरूले खेलाडी अनुबन्ध नै गर्ने थिएनन्। खेल्न नपाएपछि खेलाडी पलायन अवश्यम्भावी थियो”, उनी भन्छन्। धरान फूटबल क्लबका अध्यक्ष राईको भनाइमा पनि पुराना खेलाडी बचाउने र नयाँ जन्माउनमा नकआउट प्रतियोगिताकै महत्वपूर्ण भूमिका छ।
अवस्था यस्तो छ कि केही जिल्ला फूटबल संघ, क्लब, फूटबलप्रेमी र प्रायोजकले भरथेग नगर्ने हो भने देशैभरि फूटबल गतिविधि शून्य बन्न पुग्छ। तर, मुलुककै फूटबल–जीवन बचाउन संघर्ष गरिरहेका नकआउट प्रतियोगिता आयोजनाका लागि एन्फाको सहयोग झारा टार्नेमै सीमित छ। खेल तालिका, बल र रेफ्री पठाउन पनि एन्फामा बारम्बार ताकेता गर्नुपर्छ।
निर्विकल्प लिग
फूटबल विकासको मेरुदण्ड भनेकै घरेलु फूटबल हो। 'ए' डिभिजनमा पुग्न डी, सी, बीबाट बढुवा हुँदै आउनुपर्ने र प्रतियोगिताको सबैभन्दा कमजोर टीम घटुवामा पर्ने हुँदा एउटा टीम बनाउन क्लबहरूले लामो समयदेखि लगानी गरेका हुन्छन्। उही टोलीका खेलाडीको पनि नकआउट र लिग खेल्दाको शैली फरक हुन्छ। नकआउट जितका लागि मात्रै खेलिने तर लिगमा खेल सुधार र नयाँ–नयाँ रणनीति बनाउने अवसर हुने फूटबल विश्लेषक संजीव मिश्र बताउँछन्। “नकआउट आवश्यक छ तर यो लिगको विकल्प होइन” उनी भन्छन्, “खेलाडीमा निखार ल्याउन लिग नै चाहिन्छ।”
घरेलु लिग विजेता टोलीलाई विभिन्न प्रतियोगितामा स्वतः सहभागिताको अवसर हुन्छ। लिग नभएपछि त्यस्ता प्रतियोगिताबाट राष्ट्रको प्रतिनिधित्व छुट्छ। यसअघि एन्फाले इमेलको जवाफ नदिएकै कारण थ्रीस्टार क्लब एएफसी कप–२०१७ मा सहभागी हुन नसक्नुले पनि एन्फाको लिगप्रतिको बेवास्ता प्रमाणित गर्छ।
लिगमा एउटा क्लबमा अनुबन्धित खेलाडीले सामान्यतया एक सिजन त्यही क्लबबाट खेल्छ। तर नकआउटमा भने प्रतियोगिता अनुसार नयाँ नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने पनि हुनसक्छ। चल्तीका क्लबहरूलाई झापा कपदेखि सुदूरपश्चिम खप्तड कपसम्म भ्याउनुपर्ने हतार हुन्छ। जसले गर्दा खेलाडीले पर्याप्त आराम पाउँदैनन्। विश्लेषक पाण्डे भन्छन्, “खेल तालिका जुध्दा कतिपय खेलाडीले पाउनै पर्ने न्यूनतम २४ घण्टा आराम पनि पाएका छैनन्।” नकआउटको तालिका सार्वजनिक गर्दा एन्फाले विचार पुर्याउन सके खेलाडीहरूलाई यतिविधि धपेडी नहुने उनको सुझाव छ। यहीबीच राष्ट्रिय टोलीले १५ चैतमा फिलिपिन्सको मनिलामा हुने एएफसी एशियन कप छनोट खेल्नेछ। जबकि, प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा छानिएका ३६ खेलाडी अहिले विभिन्न क्लबहरूबाट जिल्ला जिल्लामा खेलिरहेका छन्।
एन्फाका पूर्व उपाध्यक्ष शेर्पा घरेलु लिगलाई निरन्तरता नदिने हो भने नेपाली फूटबल ओरालो लाग्ने बताउँछन्। उनी भन्छन्, “एन्फाले लिग नगर्नुको अर्थ फूटबलको विकास नचाहनु हो।”