साझा बस थप्ने विषयमा प्रधानमन्त्रीसँग छलफल
उपत्यकामा तीस वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ ।
साझा यातायातका कामु कार्यकारी निर्देशक पाण्डेलाई २ भदौ विहान प्रधानमन्त्री निवासमा बोलाएर प्रधानमन्त्री दाहालले छलफल गरेका हुन । भेटमा प्रधानमन्त्रीले भने, ‘‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं ।’’
प्रधानमन्त्री दाहालले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीस वटा साझा बस थप्न आवश्यक रहेको बताउँदै आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका थिए । भेटमा कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको जनाउदै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।