सडक फाइटदेखि बक्सिङ रिङसम्म
हङकङको सडकमा 'ग्याङ फाइट' गरेर पक्राउ परेका सुरेश गुरुङ (२७) सफल खेलाडीसँगै हङकङ प्रहरीको बक्सिङ र रग्बी खेलका प्रशिक्षक बनेका छन्।
डम्बरकृष्ण श्रेष्ठ, हङकङबाट
८ अक्टोवर २०१६ मा हङकङमा भएको प्रतियोगितामा अष्ट्रेलियाका जेम्स गिब्स (दायाँ) सँग भिड्दै सुरेश।
सन् २००५ मा भएको 'ग्याङ फाइट' मा पक्राउ नपरेको भए, सुरेश गुरुङ (२७) बक्सिङ र रग्बी खेल नजीक हुने थिएनन्।
“खै, खेलकुदतिर खासै रुचि थिएन। के पो हुन्थें होला। बरालिंदै हिंडिरहेको पो हुन्थें कि!” उनी भन्छन्। त्यही यात्राले सफल बक्सर मात्रै होइन, बक्सिङ र रग्बीका प्रशिक्षक समेत बनाएको छ।
स्कूल पढ्दै गरेका उनी 'ग्याङ फाइट' मा पाँच जना साथीसँगै पक्राउ परे, हङकङमा। पहिलो पटक आपराधिक क्रियाकलापमा पक्राउ परेका व्यक्तिलाई परामर्श दिएर खेलकुदतिर लाग्न प्रेरित गर्छ। परामर्शकै क्रममा बक्सिङका विषयमा जानकारी दिइयो।
अन्य चारजनाले ध्यान नदिए पनि सुरेश भने प्रहरीको बक्सिङ क्लबमा भर्ना भए। “साथीहरू आ–आफ्नो बाटो लागे, मलाई बक्सिङ खेल्न मन लाग्यो” उनी भन्छन्।
उनी हङकङ प्रहरीको बक्सिङ क्लबमा भर्ना त भए तर भाषा नआउने। चिनियाँ र अमेरिकन प्रशिक्षक रहेको क्लबमा उनी एक्ला नेपाली थिए।
“कतिबेला त छोडिदिऔं जस्तो लाग्थ्यो” उनी सम्झिन्छन्। महीना दिनपछि प्रशिक्षकले नेपाली साथी ल्याउन अनुमति दिएपछि केही सजिलो भएको उनी बताउँछन्।
बक्सिङ सिक्न थालेको वर्ष दिनपछि २००६ मा उनी एम्याच्योर प्रतिस्पर्धाका लागि ५२ केजी समूहमा भिडे र जिते पनि। त्यसले उत्साह मात्रै थपेन, अन्य प्रतियोगितामा भाग लिन पनि बाटो खोल्यो।
हङकङ प्रहरीको प्रतिनिधित्व गर्दै थाइल्याण्ड र चीनमा खेल्न र तालीम लिने अवसर पाए। त्यो वर्ष प्रतिस्पर्धा गरेका सबै खेलमा जित हासिल गरे, उनले। एम्याच्योरपछि प्रोफेसनल खेलका लागि मौका मिल्यो, र जित पनि सँगै आउन थाल्यो।
२०१२ मा त उनी हङकङ प्रहरीकै व्यावसायिक प्रशिक्षक बने। “सोचेकै थिइनँ, कोच भइहालेछु” उनी भन्छन्। अहिले हङकङ प्रहरीको बक्सिङका मुख्य प्रशिक्षक सुरेशको नेतृत्वमा १५ जनाको टोली छ।
हङकङमा बक्सिङ भन्दा रग्बी बढी चर्चित छ। बक्सिङ प्रशिक्षक सुरेशलाई रग्बी प्रशिक्षकले हल्काफुल्का सिकाउँथे। उनी त्यतैतिर आकर्षित भए। नभन्दै अहिले रग्बीका पनि प्रशिक्षक बनेका छन्।
विश्व बक्सिङ च्याम्पियन माइक टाइसनलाई भेटेको क्षणले बक्सिङसँग बाँधिराखेको उनी सुनाउँछन्। “बक्सिङभन्दा रग्बीमा अवसर छ। त्योभन्दा पनि क्रेज छ” बक्सिङ र रग्बी प्रशिक्षक सुरेश भन्छन्, “अहिले दुवैतिर रमाइरहेको छु।”
हङकङमा बस्ने नेपाली युवाका लागि प्रेरणा बनेका उनी प्रशिक्षण मात्रै गर्दैनन्, खेल्छन् पनि। यही २८ फागुनमा चिनियाँ खेलाडीसँग भिड्ने तयारीमा रहेका उनी जित्नेमा आशावादी छन्।
अहिलेसम्म खेलेका २५ एम्याच्योरमध्ये २३ खेल जितेका सुरेश भन्छन्, “आत्मबल र मिहिनेतले खेल जित्न सहयोग मिलेको छ।”