सिमरा विमानस्थलमा रात्रिकालीन अवतरण अझै भएन, करोडौंको पूर्वाधार उपयोग विहिन
नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलमा करोडौं खर्च गरेर रात्रिकालीन अवतरणका लागि बनाएको पूर्वाधार उपयोग विहिन बनेको छ ।
सिमरा विमानस्थलमा रातिमा पनि उडान र अवतरणका लागि रु २० करोड खर्च गरेर भौतिक पूर्वाधार सहित आवश्यक वत्तिको व्यवस्था गरेको चार वर्ष पुग्दा पनि अहिलेसम्म त्यहाँ कुनै विमानले रात्रिकालीन उडान गरेका छैनन् ।
रात्रीकालीन उडान–अवतरणको लागि रनवे विस्तार, एप्रोच लाईट, एप्रोथोमस लाईट जस्ता पूर्वाधारको व्यवस्था गरी परीक्षण अवतरण भए पनि निजी विमान कम्पनीहरुले अवतरणको लागि स्वीकृति नलिएका कारण उपयोग हुन नसकेको नागरिक उडयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले बताए ।
तर, बुद्ध एयरका स्टेशन म्यानेजर सुरेश रेग्मीले भने विमानस्थलमा रात्रीकालीन अवतरणका लागि डेडिकेटेड फिडर नभएको, यात्रुलाई रातिमा यातायात सुविधा नभएको र विमानस्थलमा इन्धन भर्ने आवश्यक सुविधा नभएकोले रात्रीकालीन अवतरण हुन नसकेको बताए ।
बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर र भारतबाट समेत आउने यात्रुहरुका लागि पायक पर्ने यो विमानस्थलमा यात्रुको चाप भने बढ्दै गएको छ ।
सिमरा विमान स्थलमा बुद्ध एयरले साना र ठूला गरी ७ र सिम्रिक एयरलाइन्सले दैनिक १ गरी दैनिक आठ उडान भरिरहेका छन् ।
श्याम गुप्ता, बारा