पर्यटन प्रवर्द्धनका लागि एसिया भ्रमणमा युवा
संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरूलाई एसिया भ्रमणमा लैजाने भएको छ ।
नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने भ्रमणमा १३ जना युवा सहभागी हुनेछन् । सहभागी युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुसी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले यो भ्रमणलाई सहयोग गरेका छन् ।
२४ फागुनबाट शुरु हुने यो १४ दिने भ्रमण मलेसियाबाट शुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर टुङ्गीने संस्थाका अध्यक्ष दिबाकरबाबु भट्टराईले जानकारी दिए । भ्रमणका क्रममा युवाहरूलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैर आवासीय नेपाली संघका प्रतिनिधि लगायतसँग छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको छ ।
संगठनले यसअघि पनि पर्यटन प्रवर्द्धनका लागि विभिन्न ७ देशको भ्रमण गराइसकेको महासचिव महेश पाण्डेले बताए ।