हेमन्तीको सैलुनमा आउनेले सोध्छन, ‘यहाँको मान्छे खोई ?’
हेमन्ती ठाकुरको सैलुनमा आउने अधिकांश नयाँ ग्राहकले सोध्छन्, ‘यहाँको मान्छे खोई ?’
त्यस्ता नयाँ ग्राहकले खोज्ने पुरुष अर्थात हेमन्तीका पति सोनी (३७) भने हेमन्तीलाई सैलुन जिम्मा लगाएर ६ वर्षदेखि साउदी अरवमा मजदुरी गरिरहेका छन् ।
सैलुनको कमाईले मात्र तीन छोराछोरीको पढाई खर्च धान्दै पाँच जनाको परिवार चलाउन धौधौ भएपछि मोरङको उर्लाबारीका सोनी घरसल्लाह गरेर साउदीतर्फ लागे ।
यता हेमन्तीले पनि दाह्री कपाल काट्ने सिप सिकेकै थिइन् । बाल्यकालमै हजुरबुबा भागवत ठाकुरसँग गाँउलेको कपाल–दाह्री सिंगार्न कैंची—छुरा समातेकी उनले लोग्नेलाई खाडी जान बिदा दिइन् र सैलुन आफैं सम्हालिन् ।
गतवर्ष दिवंगत हुनुअघिसम्म उनका बाबु नागेश्वर ठाकुर पनि पूर्वी मोरङका उर्लाबारी, मधुमल्ला, राजघाट, पथरीका हाटबजारमा छुरा कैंचीको बाकस बोकर पुगेका हुन्थे । हेमन्ती भन्छिन्, “बाबुबाजेले गरिल्याएको काम गर्न मलाई कठिन पनि थिएन् ।”
३४ वर्षीया हेमन्तीले अहिले सैलुनकै आम्दानीबाट ५ देखि १२ कक्षासम्म पढिरहेका तीन छोराछोरी मञ्जु (१९), रञ्जु (१६) र रोहन (११) को पढाई सहित घरको सम्पूर्ण खर्च धानेर मासिक करिब रु १३ हजार बचत गरिरहेकी छन् ।
खाडी गएका लोग्ने सोनीको भन्दा ज्यादा कमाई गरिरहेको बताउने उनी आफ्नो कमाईले परिवार चलाँउदा परिवारमा आफ्नै निर्णय लागू गर्न सकिएको बताउँछिन् ।
उनी भन्छिन्, “यो जहाँसुकै चल्ने, औषतमा राम्रै कमाई हुने र सजिलो पेशा हो ।”
घामपानीमा निस्कनु नपर्ने सैलुनबाट उनी सरदर दैनिक एकहजार अर्थात मासिक रु ३० हजार कमाईरहेकी छन् ।
गाँउघरमा दाह्री—कपाल काट्ने काम प्राय ठाकुर समुदायका पुरुषले मात्र गरेको देखिन्छ ।
महिलाको हातबाट छुरा—कैंची चलाइएको देख्नेहरु आश्चर्य मानेर अझैपनि उनलाई सोध्छन्, ‘जान्नु हुन्छ के ?’ ।
सीमन्तकृत समुदायकी हेमन्तीलाई पूर्वी मोरङमा बिभिन्न संघसंस्थाले आयोजना गर्ने आत्मनिर्भरता र महिला अधिकार सम्बन्धी कार्यक्रममा अगुवा महिलाको रुपमा बोलाउन थालिएको छ ।
केही महिनाअघि उनले उर्लावारीमा १८ जना युवालाई दाह्री कपाल काटने तालिम समेत दिइन् ।
“सवभन्दा राम्रो कुरा त के भने” उनले अगाडि भनिन्, “धेरै दुख नपर्ने यो काममा हाताहाती कमाई हुन्छ ।”
गोपाल गडतौला, उर्लावारी मोरङबाट