प्रधानमन्त्री दाहालको भारत भ्रमण छिट्टै: राजदूत रे
नेपालका लागि भारतीय रञ्जित रेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रेले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताए ।
दुबै मुलुकबीच सम्बन्ध थप प्रगाढ बनाउन र उच्चस्तरीय राजनीतिक भ्रमण तय गर्न उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा भोलि २ भदौमा भारत भ्रमणमा जाँदै छन् ।
राजदूत रेले भारतले दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको र त्यसका लागि छिमेकी मुलुकमा शान्ति एवम् स्थिरता चाहेको भन्दै भारतको समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता नारायण खड्काले भारतसँग नेपालको प्राचीन समयदेखि नै बहुआयामिक सम्बन्ध रहेको बताउँदै भारतले सकारात्मक सोचका साथ छिमेकमा भएका घट्नाका बारेमा राख्ने चिन्ता र चासोलाई हस्तक्षेप भन्न नहुने धारणा राखे ।
नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले भारतसँगको नेपालको सम्बन्धलाई नयाँ परिवेशमा पुनरावलोकन गर्नुपर्ने बताउँदै दुबै मुलुकको साझेदारीमा सञ्चालन हुने परियोजना दुवैका हितमा हुनुपर्ने धारणा राखे ।
नेकपा एमालेका सांसद डा राजन भट्टराईले नेपाल र भारतबीच भएका सन्धिसम्झौता कार्यान्वयन एवम् पुनरावलोकनका लागि दुवै मुलुकका सहभागी प्रबुद्ध समूहले काम अघि बढाएको जानकारी गराउँदै दुवै मुलुकले अबको मुद्दा आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतसँगको ६० को दशकदेखिको सम्बन्धमा अवधारणात्मक परिवर्तनको आवश्यकता रहेको बताउँदै भारतसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुमा नै नेपालको हित रहेको विचार व्यक्त गरे ।