कामै नगर्ने नापी
कटारी–९, उदयपुरका नरबहादुर राई (५९) ले कटारीस्थित आफ्नो खेतको 'फिल्ड चेक' का लागि १८ मंसीर २०७० मा नापी कार्यालय, गाईघाटमा रु.७ हजार २८० बुझाए। (हे. रसिद) तर, तीन वर्ष बित्यो, नापीका एकैजना कर्मचारी पनि आएनन्।
“बेलैमा फिल्ड चेक नहुँदा कित्ता नै गायब भइसक्यो”, राई भन्छन्। उनका अनुसार, कटारीबाट गाईघाट आउजाउ गर्दा मात्र एकपटकमा रु.१ हजार भन्दा बढी खर्च हुन्छ। “बुबा र म गरेर झण्डै एकदर्जन चोटि त धायौं नै, तर कर्मचारी जहिल्यै भोलि, पर्सि भन्दै टार्छन्”, राईका छोरा मदन भन्छन्।
गाईघाटका फिल्ड सुपरीवेक्षक यमराज बस्नेत कटारीमै फिल्ड चेकका लागि पटकपटक आए पनि खेतमा नआएकोमा राईको गुनासो छ। डेढ
वर्षसम्म आफ्नो काम नभएपछि १ वैशाख २०७२ मा राई स्वयंले गाईघाटबाट आफ्नो फाइल कटारी ल्याए। तर, यसो गर्दा पनि केही लागेन।
कटारी–५, का अक्कलबहादुर खत्रीको अनुभव पनि फरक छैन। १७ वैशाख २०७३ मा कटारी–२ को आफ्नो जग्गाको फिल्ड जाँच राजस्व नापी कार्यालय, कटारीमा राजस्व बुझाएका उनी भन्छन्, “दुई पटकसम्म कटारी गएँ, तर कर्मचारी नभएको भन्दै फर्काए।”
नापी कार्यालय, कटारीमा राखिएको नागरिक वडापत्रमा भने 'राजश्व बुझाएपछि तोकिएको समयमा फिल्ड चेकको काम नभए त्यसको कारण कार्यालय प्रमुखले जग्गाधनीलाई जानकारी गराई पुनः समय तोकेर कार्यसम्पादन गर्नु पर्ने' उल्लेख छ। तर कर्मचारी न कारण देखाउँछन्, न 'फिल्ड' नै पुग्छन्।
नापी कार्यालय गाईघाटका पूर्व फिल्ड सुपरीवेक्षक उनै बस्नेत अहिले कटारीस्थित कार्यालयमा निमित्त प्रमुख छन्।
“राईले ताकेता नै नगरेकाले फिल्डमा जान ढिलाइ भएको हो”, बस्नेत भन्छन्, “फेरि राजश्व बुझाएपछि त्यतिबेलै फिल्ड चेक गरिहाल्नुपर्छ भन्ने छैन, भ्याउँदा र आवश्यक पर्दा गर्ने हो।”
'फिल्ड चेक' नभएकाले उत्पन्न समस्याकै कारण नापी पुगेका स्थानीयलाई हदैसम्म झुलाउने कर्मचारीको नियत प्रष्ट छैन। राजश्व असुल्ने तर जाँच गर्न आग्रह गर्दा उल्टै 'ताकेता' गर्नुपर्ने बताउने सरकारी अधिकारी 'लेनदेन र खानपान' मा अल्झिएको स्थानीयको आरोप छ।
ऋषि राई, उदयपुर