सिमरा गोल्डकपबाट १५ लाख बचत
मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्डकपको आठौं संस्करणबाट रु १५ लाख बचत भएको छ ।
आयोजक नव जनजागृति युवा क्लबले आज, १३ फागुनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबाट रु १५ लाख ४० हजार बचत भएको जानकारी दिएको हो ।
प्रतियोगिता आयोजनाका लागि संकलित रु ५५ लाख ५७ हजारमध्ये रु ४० लाख १६ हजार खर्च भएको विवरण क्लबले सार्वजनिक गरेको छ ।
क्लबले टिम ब्यवस्थापनका लागि रु २१ लख ५६ हजार , मैदान मर्मतमा रु ३ लाख ८३ हजार , प्रचारमा रु ३ लाख खर्च गरेको छ ।
प्रतियोगितामा टिकटबाट बिक्रीबाट रु ७ लाख सङ्कलन गरेको क्लबका अध्यक्ष कासिम मियाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जिल्लाकै उत्सवको रुपमा रहेको प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष मियाँले बचत रकम फुटवलको बिकासमा खर्च गरिने बताए ।
“बचत रकम विगतमा जस्तै फुटवलको बिकासमा खर्च गर्नेछौ,” मियाँले भने “क्लबाबाट सञ्चालित सिमरा एकेडेमीबाट खेलाडी उत्पादन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।”
क्लबले टिकटबाट संकलित रकमको पाँच प्रतिशत रकम वातावरण संरक्षणका लागि सहयोग गरेको छ । स्थानीय थानीमाई सामुदायिक बन उपभोक्ता समितिलाई आजै रु ३७ हजार ९०० सयको चेक पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको छ ।
२० देखि २९ माघसम्म आयोजना गरिएको प्रतियोगिताको उपाधि सीएमजी संकटा क्लबले उचालेको थियो ।
त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको संकटाले रु ५ लाख ५१ हजार हात पारेको थियो । उपबिजेता आर्मीले भने दुई लाख ५१ हजार प्राप्त गरेको थियो ।
निरन्तर रुपमा प्रतियोगिता आयोजना गर्दै आएको जनजागृति युवा क्लबले ब्यवसायिक भवन निर्माण गर्ने लक्ष्य लिएको समेत पत्रकार सम्मेलनमा क्लबका सचिव शम्भु सिंह ठकुरीले जानकारी दिए ।
श्याम गुप्ता, बारा