सरकारी कार्यालयबाट दिइने भुक्तानी अब अनलाइनमार्फत
सरकारी कार्यालयबाट हुने भुक्तानी आगामी आइतबार अर्थात १५ फागुनदेखि अनलाइनमार्फत दिइने भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको जनाएको हो ।
अब २५ हजारभन्दा माथिको भुक्तानी गर्दा अनिवार्य रुपमा अनलाइनमार्फत उपलब्ध गराइने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउनेछ ।
अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी गराए ।
हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाले दाबी गरेको छ ।
पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।