सञ्चारउद्यमी सिंघानियाँ हत्याका योजनाकार भनिएका रामविनोदलाई थुनामा राख्न अदालतको आदेश
धनुषा जिल्ला अदालतले सञ्चारउद्यमी अरुण सिंघानियाँ हत्याका योजनाकारमध्येका एक भनिएका रामविनोद यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
यादव ३२ साउन अपराह्न जिल्ला अदालत धनुषामा आफैं उपस्थित भएका थिए ।
अपरान्ह १ः१५ बजे मुख छोपेर जिल्ला अदालत धनुषामा उपस्थित भएका यादव साथै वादी र प्रतिवादी पक्षका वकिलको बहसपछि न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजलाशले उनलाई पूपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
आदेशमा पछि प्रमाणबाट अन्यथा देखिएको अवस्थामा सोही बमोजिम हुने गरी हाल गरे बिराएको भन्ने देखिन आएकोले पूपक्र्षका लागि थुनामा राख्न भनिएको छ ।
१७ फागुन २०६६ मा जनकपुर टुडेका तात्कालीन प्रकाशक अरुण सिंघानियाँलाई जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनक लामा र अन्सी राईनले बयानको क्रममा रामविनोदको निर्देशनमा सिंघानियाँको हत्या गरेको बताएका थिए ।
पाँच जनाको ज्यान जाने गरी जनकपुरको रमाानन्द चौकमा गराईएको बम विष्फोटको घटनाका प्रमुख अभियुक्त संजय साहलाई प्रहरीले सिंघानियाँ हत्याकाण्डको प्रमुख योजनाकार बनाएको छ ।
सिंघानियाँ हत्याकाण्डमा प्रमुख योजनाकारको रुपमा रामविनोद यादवलाई देखाइरहँदा यादव पक्राउ नपर्दै साहलाई प्रहरीले प्रमुख योजनाकार बनाएकोमा साहका आफन्तले अनुसन्धानप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।
अपरान्ह २ बजे जिल्ला अदालत धनुषामा उपस्थित भएका रामविनोद यादबले आफैं निवेदन लिएर दत्र्ता गराउन रजिष्ट्रार कहाँ पुगेका थिए ।
लगत्तै उनी पक्षका कानून व्यवसायिहरु चन्द्रप्रकाश मैनाली, विजय ठाकुर र राजन दहालले थुनामा राख्न आवश्यक नरहेको भन्दै साधारण तारेखमा रिहा गर्न न्यायाधीश समक्ष आग्रह गरेका थिए ।
जाहेरवाला राहुल सिंघानियाँका कानून व्यवसायी हेमकार्कीले थुनामा राखेर थप अनुसन्धानको माग गरेका थिए ।
ईश्वरचन्द्र झा, जनकपुर