बाख्रापालनबाट फेरियो जीवन
जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँच वर्षअघि व्यावसायिक रुपले सुरु गरेको बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको हो । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट सुरु गरेको बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ बराबरको आम्दानी गर्ने भएको छ ।
“मुख्य पेसा बाख्रापालन नै हो, राँगो र कुखुरा पनि छ”, टुल्कीले भनिन् – “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेका छौँ, आम्दानी राम्रो छ ।” पशुपालन र कृषिबाट वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको छ भने सहयोगी व्यवसायका रुपमा मौरीपालन पनि गर्दै आएको छु, उनले भनिन् ।
सानो खरले छाएको घर, थोरै जग्गा–जमिन भए पनि टुल्कीका परिवारले परिश्रमबाटै राम्रो उन्नती गरेको छिमेकी बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुपर्यो, टुल्कीले भनिन् – “घरपरिवारले हामीलाई अलग्गै राखे, ठूलो दुःख, पीडा झेल्यौँ ।” बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुगेको उनले सम्झिन ।
तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्की मजदुरी गरेर परिवार धान्दै आएको भैरप्रसादले बताए । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्ने र हलो जोत्ने गर्थे । घरको बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन समस्या थियो ।”
“घरको काममा श्रीमानले पनि पूर्णरुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरी पनि परिश्रमी छन् । उनीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ” – टुल्कीले भनिन् । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत छ ।
“एउटा बाख्रा ९/१० महिना पुगेपछि बेच्छौँ, एउटा बोका–खसी रु १५ देखि २० हजार मूल्यमा बिक्री हुन्छ” – टुल्कीले भनिन् । बाख्रासँगै कुखुरा, मह, भाँगो, तरकारी बेचेर पनि राम्रोे आम्दानी भएको छ । टुल्की हेफरले नेपालले दिने ‘स्वर्णीम प्रतिभा पुरस्कार’ बाट समेत गतवर्ष पुरस्कृत भइन्।
हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्कीजस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए । रासस