विद्यार्थी स्कुल नआउदा अभिभावकलाई सजाय
जाजरकोटको मालिका प्रावि थालारैकर–८ सुगरखालका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँगै विद्यालय पुग्छन् । प्रार्थनाको समयमा आफैँ उपस्थित हुने अध्यक्ष भक्तबहादुर थापाले जिल्लाकै उत्कृष्ट विद्यालय बनाएका छन ।
५ कक्षासम्म पढाइ हुने यो विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआए त्यो दिन निःशुल्क पढाउन पर्ने नियम लगाइएको छ । विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ ।
अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गरेका छन । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताए ।
हप्तामा एक पटक विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेको स्रोतव्यक्ति मनिराम पोखरेलले बताए । गयल हुने शिक्षकको तलव काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक शान्तबहादुर रोकायले बताए । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पु¥याएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।
विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा पुगेर विद्यालयमा अभिभावकले काम गर्न बाध्य पारेदेखि सबैले आफ्ना छोराछोरी नियमित विद्यालयमा पठाउन लागेको प्रअ रोकायले बताए । रासस