समाचारआइतबार, ८ फाल्गुण , २०७३

काठ काट्दा मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ

हिमालखबर

जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । 

शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी दिए । 

घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आज ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताए ।

उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ ।

यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिकृया दिनुहोस