एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने
नेकपा एमालेले प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने भएको छ ।
प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भए पनि एमालेले नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहालका विरुद्धमा मतदान गरी प्रतिपक्षमा बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले राष्ट्रिय सहमतिका लागि आवाज उठाउँदै आएका सन्दर्भमा जिम्मेवार राजनीतिक संस्कार र वातावरणका लागि उक्त निर्णय गरेको बताए ।
संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक मात्र उम्मेदवार भए पनि मत विभाजनबाट निर्णय हुनेछ । एमालेले हालसम्म आफ्नो गठबन्धनमा रहेका दललाई पनि दाहालको विरोधमा मतदान गर्न आग्रह गरेको छ ।
भट्टराईले संविधान कार्यान्वयनका लागि सहमतिको राजनीति एमालेको प्राथमिकता भएकामा जोड दिँदै २०७४ माघभित्र तीनै तहका निर्वाचन नगराउने षड्यन्त्रप्रति खबरदारी गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
उनले राष्ट्रिय एकता र सद्भावमा खतरा उत्पन्न हुने अवस्थामा संविधान संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नहुने तर सहमतिबाट समाधानका लागि लचिलो हुने बताए।
“मुलुकमा संवैधानिक वा राजनीतिक रिक्तता तथा लोकतान्त्रिक मान्यतामा खतरा आउन सक्नेतर्फ हामी गम्भीर छौँ”, भट्टराईले भने, “तर हामी राष्ट्रिय सहमति तथा संस्कारयुक्त राजनीतिका पक्षमा छौँ ।”