डिआईजी चन्दसँग पाँच प्रश्न
पछिल्लो महीना ठूलो परिमाणमा लागूऔषध बरामद गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयबहादुर चन्द भन्छन्, “कमजोर कानूनको फाइदा उठाउँदै लागूऔषध कारोबार गर्नेहरु बढेका छन्।”
पछिल्लो समय लागूऔषध कारोबारी बढेका हुन्?
हो। नेपालको बाटो हुँदै तेस्रो देशमा लागूऔषध कारोबार गर्ने गिरोहको सक्रियता बढेको देखिएको छ। त्यसलाई नियन्त्रण गर्न प्रहरी कारबाही पनि बढाएका छौं।
कारोबारीले नेपालको बाटो रोज्नुको कारण के हो?
दुई ठूला छिमेकी मुलुक भारत र चीनमा रहेको ठूलो बजारकै कारण नेपालमा लागूऔषध कारोबारीको सक्रियता बढेको हो। नेपाल–भारत खुल्ला सिमानाले पनि उनीहरुलाई बल दिएको छ। हाम्रै कानून पनि कमजोर छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फितलो जाँचले पनि अपराधी हौसिएका छन्।
कानूनमै कमजोरी भन्नाले?
कतिपय मुलुकमा लागूऔषध कारोबारीलाई मृत्युदण्ड जस्ता कडा सजाय छ। यहाँ भने केही समय जेल बसेर धरौटीमा छुटिहाल्ने अवस्था छ।
लागूऔषध नियन्त्रणका चुनौती के के हुन्?
लागूऔषध संगठित अपराध हो। अन्तर्राष्ट्रिय गिरोहकै संलग्नतामा कारोबार भइरहेको हुन्छ। त्यसैले अनुसन्धानका लागि समन्वय अभाव नै सबैभन्दा ठूलो समस्या हो। अनुसन्धानका लागि हामीसँग आवश्यक साधन–स्रोतको पनि कमी छ। विमानस्थलमा ठूला–ठूला एक्स–रे मेशीन चाहिन्छ। पर्याप्त जनशक्ति पनि छैन। सूचना संयन्त्र बलियो बनाउनुको विकल्प छैन।
प्रहरी चाहिं के गरिरहेको छ?
कारोबारीविरुद्ध प्रहरी 'मूभ' बढाएकैले पछिल्लो समय सफलता हात पारिरहेका छौं। शंकास्पद ठाउँहरुको निगरानी बढाएका छौं। गाँजा नष्ट गर्ने अभियानमा छौं।