अर्थ/बजार आइतबार, फागुन १, २०७३

उत्पादनशील क्षेत्रमा लगानी गर्न गभर्नरको आग्रह

हिमालखबर

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सन्दर्भमा १ फागुनमा आयोजित कार्यक्रममा गभर्नर नेपालले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सबैको हैसियत देखिएकाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिएका हुन ।

उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न आग्रह गर्दै उनले योजनाबद्ध तवरले लगानी नगर्ने हो भने राजनीतिक परिवर्तनसमेत दिगो हुन नसक्ने धारणा राखे ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले लगानीमैत्री वातावरण निर्माण गरेर मुलुकको आर्थिक समृद्धिको योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई आजदेखि प्राप्ति गरेको छ । सो बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकको चुक्ता पूँजी रु सात अर्ब २४ करोड भएको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सो बैंकले हालसम्म सातवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर एवम् प्राप्ति गरिसकेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकका ९४ वटा शाखा पुगेका छन् ।रासस

 

प्रतिकृया दिनुहोस