संकटालाई सिमरा गोल्डकपको उपाधी
टाईब्रेकरमा त्रिभूवन आर्मी क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ । बाराको सिमरा रंगशालामा २९ माघमा भएको फाइनलमा आर्मीलाई संकटाले ४–२ ले पराजित गरेको हो ।
संकटाले ट्रफी सहित रु. पाँच लाख ५१ हजार जितेको छ । उपबिजेता आर्मीले भने रु. दुई लाख ५१ हजार प्राप्त गर्यो ।
पहिलो हाफको अन्तिम समयमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । संकटाले खेलको ५६ मिनेटमा बराबरी गोल फर्कँयो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे ।
निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा गोल हुन सकेन ।
संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए । संकटाका बिश्व अधिकारीको प्रहार भने सुनिल श्रीवास्तवले रोकेका थिए ।
आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके । आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए ।
प्रतियोगितामा संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाईकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे । बिधागत रुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ ।
बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए ।
श्याम गुप्ता, बारा