एकमुष्ठ माफी हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालीन घटनामा संलग्नलाई एकमुष्ठ माफी नदिइने बताएका छन् ।
३१ साउनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले ‘एकमुष्ट माफी दिइन्छ भन्ने भ्रम फैलाइएको तर आफूहरु माफी दिन नहुने कुरामा प्रष्ट रहेको’ बताएका हुन् ।
‘प्रधानमन्त्रीले दण्डहीनताको समेत अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो’, भेटमा सहभागी आयोगकी सदस्य माधवी भट्टले भनिन् ।
आयोग अध्यक्ष सूर्यकिरण गुरुङले आयोगको ऐन संशोधन, थप साधनस्रोतको उपलब्धता र अन्तरिम प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले आफू शान्ति प्रक्रियाको एउटा पक्ष र विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएका नाताले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन गम्भीर रहेको बताएका थिए ।
आयोगकी सदस्य भट्टले प्रधानमन्त्री दाहाललाई छोराको हत्यारालाई कारवाहीको माग राखी अनसन बसिरहेकी गंगामाया अधिकारीको विषय टुंगोमा पुर्याउन आग्रह गरेकी थिइन् ।
उनले भनिन्,“गंगामायाको मागबारे अदालतले आदेश दिइसकेको छ, त्यसलाई कार्यान्वयन गर्नुभयो भने आयोगको प्रतिवेदन पनि कार्यान्वयन हुने विश्वास बढ्छ ।”
तर प्रधानमन्त्री दाहालले भने यसबारेमा कुनै प्रतिक्रिया दिएनन् ।