चन्द निकट क्रान्तिकारी भन्छ: हामीले तीनवटा कलेजमा तोडफोड गर्यौं
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गर्ने काठमाडौँका तीनवटा कलेजमाथि तोडफोड गरी 'कारबाही' गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेका अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएम कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
काठमाडौँ मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सञ्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी शङ्करापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए ।
निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्नेलगायत मागसहित चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी ले गरेको शैक्षिक हडतालका कारण आज मुलुकभरका शैक्षिक संस्था बन्द गराएको हो ।
यसैबीच, पटक/पटक शिक्षालयमा बन्द र हडताल हुनुले विद्यालय शान्ति क्षेत्रको अवधारणा उलङ्घन र विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको शैक्षिक संस्थाले जनाएका छन् ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल लगायतका संस्थाले विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसँग आग्रह गरेको छ ।