थप समाचार विहीबार, माघ २०, २०७३

दशगजामा बनाएको पक्की सडक र नाला भत्काइने

हिमालखबर

महोत्तरीको मटिहानी र भारतीय शहर मधवापुरको सीमास्थित दशगजामा भारतले यसै साता निर्माण गरेको पक्की सडक र नाला भारतीय पक्षले भत्काउने भएको छ । 

विहारको जयनगरमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला भत्काउन आदेश दिएका हुन् । 

महोत्तरीका प्रजिअ वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले भारत विहारको मधुवनी जिल्लाको जयनगरमा भारतीय पक्षसँग विशेष बैठक  गरेपछि भारतीय पक्षले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको प्रजिअ, वीरेन्द्र यादवले जानकारी दिए । 

साथै उनीहरुले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताए । 

सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको छ । रासस 

 

प्रतिकृया दिनुहोस