पोखराको अतिथि रिसोर्ट चौथो स्थानमा
पोखराको अतिथि रिसोर्ट एण्ड स्पा यो वर्ष ट्रिप एडभाइजरको छनौटमा चौथो स्थानमा परेको छ ।
सन् २०१३ को जुलाइदेखि शुरु भएको सो रिसोर्टले स्थापनाको चौथो वर्षमै एडभाइजरको छनौटमा तीन पटक पर्न सफल भएको छ ।
रिसोर्ट सन् २०१४ मा छैठौं र २०१५ मा आठौँ स्थानमा परेको थियो । अतिथि रिसोर्टसँगै पोखराको पाँचतारे होटल पोखरा ग्राण्ड पाँचौ स्थानमा परेको छ । ट्रिप एडभाइजरले छनौट गरेका नेपालका दश होटेलमध्ये काठमाडौंका सात र नगरकोटको एक होटल छन् ।
पोखराको नयाँबजारमा बस्ने एकै परिवारका चार दाजुभाईहरुले रु २५ करोडको लागतमा सो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । चार दाजुभाइ रामजी, लक्ष्मण, भरत र शत्रुघन पौडेलले सञ्चालन गरेको होटलबाट हाल ९० जनाले रोजगारी पाएका छन् ।
होटलको सेवा, सुविधा र पूर्वाधारको आधारमा त्यहाँ बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहमा ट्रिप एडभाईजरले बर्सेनि उत्कृष्ट होटलको छनौट गर्दै आएको सञ्चालक भरत पौडेलले बताए ।
उत्कृष्टताको सूची हेरेर धेरैजसो विदेशी पाहुनाले अनलाइनबाटै होटलको बुकिङ गर्ने गरेको र होटलको सेवा र सुविधा आगामी दिनमा अझै वढाउँदै सबैभन्दा उत्कृष्टमा लैजाने सञ्चालक पौडेलले जानकारी दिए ।
पर्यटकको सल्लाहका आधारमा 'ट्रिप एडभाइजरी'ले छानेको नेपालका उत्कृष्ट होटल ।
१. द्वारिकाज होटल, काठमाडौं
२. होटल टिबेट इन्टरनेसनल, काठमाडौं
३. होटल साम्बला, काठमाडौं
४. अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा
५. पोखरा ग्रान्ड, पोखरा
६. पार्क भिलेज होटल एन्ड रिसोर्ट, काठमाडौं
७. ह्यात रिजेन्सी, काठमाडौं
८. क्लब हिमालयन रिसोर्ट, नगरकोट
९. होटल शंकर, काठमाडौं
१०. सोल्टी क्राउन प्लाजा, काठमाडौं
युवराज श्रेष्ठ, पोखरा