गङ्गामाया बचाऔँ अभियान
आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत आज मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका छन् ।
मानवअधिकारकर्मीले ६ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानीसमेत त्यागेर आमरण अनशन शुरु गरेपछि उनको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि दबाबमूलक कार्यक्रमको आयोजना गरेको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिए ।
मानवअधिकारकर्मी प्रसार्इं, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईंलगायत धर्नामा सहभागी थिए ।
विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बसेकी थिए । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छन् ।
वीर अस्पतालमा आमरण अनशनरत उनले सरकारलाई पाँचदिने अल्टिमेटम दिएर सलाइन पानी समेत त्यागेकी हुन् ।