दामनमा हिउँ (तस्वीरहरु)
शब्द/तस्वीर: सुरजकुमार भूजेल
मकवानपुरको दामन हिउँले सेताम्मे भएपछि वरपरका जिल्लाबाट हिउँ खेल्न आउनेहरुको घुइँचो लागेको छ ।
समुद्र सतहदेखि करीव २६०० मिटरको उचाइमा रहेको दामनको डाँडाकाँडा, त्रिभुवन राजपथको वरपर सीमभन्ज्याङ–मैत्रीबगैंचा क्षेत्र पूरै हिउँले ढोको छ ।
राजधानी काठमाडौं र हेटौंडाबाट सजिलै र छोटो समयमा पुग्न सकिने र राजपथकै दायाँबायाँ हिउँको मज्जा लिन सकिने भएकाले दामनमा हिमपात हुँदा यहाँ वरपरका क्षेत्रबाट आउने पर्यटकको घुइँचो लाग्छ ।
सडकमा जमेको बाक्लो हिउँका कारण राजपथ झण्डै १३ घण्टा अवरुद्ध हुनपुग्यो ।
पृथ्वी राजमार्गमा हुने सवारी–जामलाई व्यहोर्नु नपरोस भनेर त्रिभुवन राजपथबाट हुँईकिएका यात्रुहरुले सडकमा हिउँ जमेपछि यातायात बन्द नव्यहोरी सुखै पाएनन् ।
राजविराजका अवधेश झा भने हिउँ परेर बीच बाटोमै अड्किनु पर्दा पनि रमाइलो भएको बताए । “हिउँ त पिठो जस्तै आकाशबाट खस्दो रैछ,” पहिलो पटक हिउँ देखेका उनले भने ।
दामनमा हिउँ खेल्न जिल्लाका विभिन्न स्थानका अतिरिक्त वीरगञ्ज, सर्लाही, चितवन, काठमाडौं, धादिङ लगायतबाट पर्यटकहरु आएका छन् ।
सर्लाहीको लालबन्दीबाट स्कुटरमा काठमाडौं हिंडेका अमिता पाख्रिन र श्रमिका लामा दामनमा हिउँ परेको खबर पाएर त्रिभुवन राजपथको बाटो नै पछ्याए । सीमभन्ज्याङमा सेल चपाउँदै दुवैले भने, “जति खेले पनि रहर नपुग्ने, अर्को पटक फेरि आउँछौं ।”
अन्य स्थानका तस्वीरहरु: