उपप्रधानमन्त्री महरा चीन प्रस्थान
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ गएका छन् ।
परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीनतर्फ लागेका हुन् ।
चीनतर्फ लाग्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।
“नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौँ ।" उपप्रधानमन्त्री महराले भने ।
उनले चीनका राष्ट्रपति सि जिनपिङ्लाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट नेपाल भ्रमणको निम्तो पनि दिनेछन् ।
चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने वर्तमान सरकारको चाहना पनि अवगत गराउने बताए ।
उपप्रधानमन्त्री महराले दुईदिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी, महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्नेछन् । उनका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल छन् ।