पर्साः हेल्थ असिस्टेन्टहरु र प्रहरीबीच झडप
स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आन्दोलनरत हेल्थ असिस्टेन्टहरु माथि १२ माघमा प्रहरीले लाठी चार्ज गरेकोे छ ।
लाठी चार्जबाट हेल्थ असिष्टेन्ट संघ (हान) का पर्सा अध्यक्ष रविन्द्र साह, उपाध्यक्ष सुनिल कुर्मी, सदस्यहरु नन्दराज शर्मा, गोविन्द कुमार महतो, रितुराज शर्मा र भगवती भट्टी गरी पाँच जना घाइते भएका छन् ।
उनीहरुको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको मुख्य गेट बन्द गरी आन्दोलन गरिरहेका हेल्थ असिस्टेन्टहरुमाथि प्रहरीले पटक पटक लाठिचार्ज गरेको थियो ।
शान्तिपुर्ण आन्दोलनमा रहेका आफूहरुमाथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषिराज ढुगांना नेतृत्वको प्रहरी टोलीले विनाकारण लाठी प्रहार गरेको हेल्थ असिस्टेन्टहरुले आरोप लगाएका छन् ।
“शान्तिपूर्ण आन्दोलन गरिरहेका हेल्थ असिस्टेन्टहरु माथि प्रहरी लगाएर दमन गराईएको छ,” हेल्थ असिस्टेन्ट संघका केन्द्रीय सदस्य अनिल यादवले भने ।
स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक मोहम्मद दाउदको उपस्थितिमा १० माघमा बसेको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डितले हेल्थ असिस्टेन्टहरुलाई प्रमुख बनाउने आश्वासन दिएको भए पनि कार्यान्वयन नगरेकोले समस्या बढेको हानका केन्द्रिय सदस्य यादवको भनाई छ ।
तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साहले भने औषधी लिन आएका स्वास्थ्यकर्मीहरुलाई समेत हेल्थ असिस्टेन्टहरुले कार्यालय प्रवेशमा रोक लगाएपछि सामान्य बल प्रयोग भएको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले हेल्थ असिस्टेन्टहरुले सुरक्षाकर्मीहरुलाई ढुंगा हानेपछि लाठिचार्ज गर्नुपरेको बताए ।
अहेवहरुले अनुभव र ग्रेडका आधारमा स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारी लिइरहेकोमा स्वास्थ्य सेवा निर्देशनालयले अब उपरान्त हेल्थ असिस्टेन्टलाई इन्चार्जको जिम्मेवारी दिन पत्राचार गरे पनि जिल्ला जनस्वास्थ्य कार्यालयले हेल्थ असिस्टेन्टलाई इन्चार्जको जिम्मेवारी दिन आनाकानी गरिरहेको छ ।
पर्सा जिल्लामा ७२ जना हेल्थ असिस्टेन्ट कार्यरत छन् ।
सुरेश बिडारी, वीरगञ्ज