समाचार सोमबार, साउन ३१, २०७३

शहीद घोषणा गर्न मोर्चाले बुझायो ६८ मृतकको सूची

हिमालखबर

मधेशी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई/मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई शहीद घोषणा गर्न माग गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई शहीद घोषणा गर्नुपर्ने माग गरेको थियो ।

गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुई/तीन जना कम व्यक्तिको सूची बैठकमा प्रस्तुत गरेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिए ।

गृहको सूचीमा भने ६२ जनाको मात्रै नाम छ ।

गृह मन्त्रालयले मोर्चाले सूचीमा राखेका पर्सामा मारिएका भारतीय नागरिक आशिषकुमार राम, सप्तरीमा आन्दोलनका क्रममा भाग्दा करेन्ट लागेर मरेका शिवशङ्कर दास र गाडीको ठक्करबाट मरेका बालककृष्ण रायलगायत व्यक्तिको नाम सूची राखेको छैन ।
 
छलफलमा शहीद घोषणासँगै आन्दोलनको क्रममा घाइते भएकालाई निःशुल्क उपचार खर्च, अपाङ्ग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेकालाई रिहा, मुद्दा फिर्ता र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेलगायत विषय गठबन्धनले राखेको अध्यक्ष झाले जानकारी दिए ।
 
जवाफमा उपप्रधानमन्त्री निधिले गठबन्धनले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेको र आगामी मन्त्रिपरिषद् बैठकबाट तीनलाई सम्बोधन गरिने बताएका थिए ।
 
छलफलमा गठबन्धनका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।

सुर्खेत, जुम्ला, कैलालीलगायत क्षेत्रमा मारिएका सुरक्षाकर्मी र सर्वसाधारणको नामसमेत शहीद सूचीमा राखिएको सदभावना पार्टीका महासचिव मनिष सुमनले बताए । उनले आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेको उपचार खर्चलगायत विषयमा वार्ता सकारात्मक भएको भन्दै केही दिनभित्रै शीर्षवार्ता हुने जानकारी दिए ।

 अनुसन्धान गर्न बाँकी मुद्दा खारेज गर्ने र अदालतमा गइसकेका मुद्दालाई प्रक्रिया पूरा गरी फिर्ता लिने वातावरण बनाइने गृहमन्त्री निधिले बताएका छन् ।

बैठकमा आन्दोलनका क्रममा भएको अतिरिक्त बल प्रयोगलगायत हिंसात्मक घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजत्वमा ५ सदस्यीय न्यायिक छानबिन आयोग बनाउने बारे पनि छलफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस