शरणार्थी शिविरमा खाद्यान्न वितरण रोकियो
भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले दिँदै आएको खाद्यान्न घटाइएपछि १० माघदेखि खाद्यान्न वितरण रोकिएको छ ।
शरणार्थीलाई सन् २०१६ को अन्त्यसम्म डब्लूएफपीले दिँदै आएको दाल, नुन र खानेतेल कटौति गरिएको छ भने चामलको परिमाण घटाएको छ । अन्तराष्ट्रिय दाताहरुले दिँदै आएको सहायता घटाएको कारण कटौती गर्नु परेको डब्लूएफपीले जनाएको छ ।
शरणार्थीले दैनिक पाइरहेको पाँचग्राम नुन, ६० ग्राम दाल र २० ग्राम खानेतेल सन् २०१७ को शुरुदेखि बन्द गरेको छ । वृद्धवृद्धा, बालबालिका, विरामीहरुलाई भने पहिलेकै तालिकामा खाद्य सहायता दिने बताएको छ । पुरानै तालिकामा सहायता पाउँनेको संख्या तीन हजार १५५ छ । ४ सय ग्राम चामल पाउदै आएका शरणार्थीले अहिले ३३५ ग्राम दिन थालिएको छ । आधापेट खाना मात्रै पुग्ने जनाउदै घटाएको विरोधमा शरणार्थीले खाद्य सहायता अस्विकार गरेका हुन् ।
विश्वका अन्य भागमा विशेष गरि सिरिया, यमनलगायतका मुलुकमा बढेको शरणार्थी संकटका कारण सहायता परियोजनाहरु त्यसतर्फ केन्द्रित गर्नु परेकोले नेपालमा बजेट घटाउनु परेको डब्लूएफपीले जनाएको छ ।
गोपाल गडतौला, झापा