शहीद सप्ताह सुरु
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि शहीद सप्ताह मनाउन सुरु गरेको छ ।
यही माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
यस वर्ष पनि महानगरपालिकाले चार शहीदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम सुरु गरेको छ । आज बिहान महानगरपालिकाले शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी शहीदप्रति सम्मान गरेको छ । शहीद शास्त्रीलाई विसं १९९७ आजकै दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत प्रमुख रुद्रसिंह तामाङ, नेपाल सद्भावना पार्टीका नेता निरञ्जन पौडेल र महानगरपालिकाका निर्देशक सनदकुमार थापाले निरङ्कुश व्यवस्थाविरुद्ध तत्कालीन कठिन परिस्थितिमा ज्यानको आहुति दिने शहीद महान् भएको र शहीदका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा राखे ।
यसबाहेक शहीद धर्मभक्त माथेमालाई सिफलमा यही माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।
त्यस्तै, माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको सम्झना गरिन्छ । समितिले माघ १६ गते रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी लैनचौरस्थित शहीद स्मारकमा गएर कार्यक्रम गर्ने जनाएको छ । रासस