टिप्पणी शनिबार, माघ ८, २०७३

नेपालीः एउटा “अनौठो जमघट”

प्रत्यूष वन्त

कमलमणि दीक्षितले 'अनौठो जमघट' भन्दै २०१६ सालमा प्रकाशन शुरू गरेको नेपाली का २२५ अंक इतिहासमा अभिरुचि राख्ने अध्येताहरूका लागि रुचिपूर्ण अभिलेख बनेको छ।

नेपाल भित्रबाट पहिलो म्यागेजिन शारदा १९९१ सालमा छापिएयता तीन हजारभन्दा बढी म्यागेजिन प्रकाशन भए हुनन्। यी म्यागेजिन/जर्नललाई लहरमा मिलाएर राख्ने हो भने त्यहाँ बालकृष्ण सम सिर्जित 'मास्टहेड' सहितको नेपाली लाई टाढैबाट प्रष्ट देखिन्छ। २०१६ सालमा पहिलो अंक प्रकाशन भएको मदन पुरस्कार गुठीको यो म्यागेजिन अद्यापि निरन्तर छ।

अहिले यो निबन्ध लेखिरहँदा मेरासामु नेपाली को पछिल्लो अंक (कात्तिक–मंसीर–पुस २०७२) छ। यो २२५औं अंक हो। उही आकार र बान्कीमा छापिएका नेपाली का सबै अंक कमल दीक्षित (वि.सं. १९८६–२०७३) ले सम्पादन गरेका हुन्।

मलाई थाहा भएसम्म ५६ वर्षसम्म निरन्तर सम्पादक रहेर दीक्षितले एउटा राष्ट्रिय 'रेकर्ड' राखेका छन्। यो दक्षिण एशियाली या विश्व 'रेकर्ड' नै पनि हुन सक्छ। नेपाली को निरन्तरता दिवंगत सम्पादकको प्रतिबद्धताका कारणले नै सम्भव भएको हो।

गत २० वर्षदेखि एउटा जर्नल सम्पादन गर्दै आएको हैसियतले म यहाँ यति भन्न सक्छु– सम्पादक जतिसुकै प्रतिबद्ध भए पनि लेखक र पाठकको बृहत् योगदान र 'फीडब्याक' विना कुनै जर्नल/पत्रिका लामो समय बाँच्दैन।

हिमाल खबरपत्रिका का सम्पादकले मलाई यो लेखमा नेपाली म्यागेजिन/जर्नलमा केन्द्रित रहन र त्यसका सामग्रीले नेपाली समाजलाई के–कस्तो योगदान दियो, विश्लेषण गर्न भनेका थिए।

नेपालबाट प्रकाशित प्राज्ञिक र इतिहासका जर्नलहरूबारे केही अनुसन्धान गरेको र लेखेको भए पनि हिमाल का आम पाठकलाई नेपाली म्यागेजिनको कथा कसरी राम्ररी भन्नेबारे म त्यति स्पष्ट भने छैन। म यहाँ नेपाली को एउटा पाठकका तवरबाट चार कथ्यांशमा मात्र सीमित रहन्छु।

एकः मदन पुरस्कार गुठी स्थापना
नेपालको प्रजातान्त्रिक इतिहासमा २०१७ साल पुसको पहिलो दिन कुख्यात छ। त्यस दिन विभिन्न बहाना बनाएर राजा महेन्द्रले डेढ वर्षअघि मात्र पहिलो पटक जनताले चुनेको संसद् विघटन गरेर बीपी कोइराला नेतृत्वको सरकार अपदस्त गरेका थिए।

राजनीतिक दललाई प्रतिबन्ध लगाएर नेता जतिलाई जेलमा जाक्दै सबै शासनाधिकार आफ्नो हातमा लिएका थिए। त्यसको ठीक पाँच वर्ष अघिको पुस १ (२०१२) कै दिन ललितपुरको पोटा रजिष्ट्रेशन अड्डामा मदन पुरस्कार गुठी दर्ता गरिएको थियो। र, भदौ २०१३ मा गुठियारहरूले गुठीको नियमावली पारित गरे, जसबाट नेपाली म्यागेजिनको मातृसंस्था मदन पुरस्कार गुठीले बलियो कानूनी र औपचारिक जग पाएको थियो।

गुठीको कोषका लागि श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरकी विधवा रानी जगदम्बाले तीन लाख भारतीय रुपैयाँ दिएकी थिइन्। गद्य साहित्य, पद्य साहित्य, दर्शन तथा सामाजिक शास्त्र र विज्ञान गरी चार विशेष विधामा नेपाली भाषामा लेखिएका पुस्तकलाई वार्षिक रूपमा पुरस्कृत गर्ने गुठीको प्रारम्भिक उद्देश्य थियो।

वर्षभरि प्रकाशित पुस्तकमध्येबाट चयन समितिले उम्दा ठहरुर्‍याएका पुस्तकका लेखकलाई अक्षयकोषको ब्याजबाट नगद पुरस्कार दिने उद्देश्य थियो। कमल दीक्षित, उनका बुवा केदारमणि र आमा विद्यादेवीले गुठीको उद्देश्य खुट्याएका थिए। त्यसपछि गुठीले गैरसरकारी संस्थाको रूप लियो; गैर–राणाको उद्देश्यलाई राणाको सम्पत्तिले सघायो।

प्रारम्भिक समयमा अक्षय कोषबाट आउने ब्याज पुरस्कार दिन मात्र पुग्थ्यो। त्यसैले, गुठीले तत्काल कुनै म्यागेजिन प्रकाशन गर्न सकेन। गुठी संगठित भएको चार वर्षपछि २०१६ सालमा भने उसले नेपाली प्रकाशन गर्न थाल्यो।

वर्षका चार अंक र वार्षिक जम्माजम्मी १५० पानाको हुने भनिएको नेपाली को पहिलो सम्पादकीयमा आफूलाई साहित्यिक म्यागेजिनको रूपमा हेरिएको थियो। साथै, यसमा गुठीसम्बन्धी समाचार र सूचना पनि प्रकाशन गरिने जानकारी दिइएको थियो।

दुवै उद्देश्य पूरा गर्नुपर्ने भएकाले पाठकले नेपाली मा 'अनौठो जमघट' फेला पार्ने सम्पादकीयको दाबी थियो। लेखिएको थियो– 'नेपाली मा कतै अरनिको (बलबाहु) सँग न्यूटन बात मार्न बसेको देखिने छन् भने कतै भानुभक्तसँग भास्कराचार्यले कुम जोरेको फेला पर्नेछ।

जङ्गबहादुरको साथी म्याडम क्यूरी र कुलचन्द्रका साथमा कार्ल मार्क्सलाई देख्ता धेरैलाई अचम्म लाग्नेछ। तर यो यस्तै छ। नेपाली वाङ्मयका सबै अङ्गले यो 'नेपाली' मा स्थान पाउनेछन्– ठाउँले भ्याएसम्म!”

दुईः साहित्यिक म्यागेजिनको आधारभूमि
नेपाली सम्बन्धी दोस्रो महत्वपूर्ण कथ्यचाहिं यो प्रश्नको उत्तरसँग सम्बन्धित छ– गैरआख्यानसहित नेपाली वाङ्मयका सबै विधाले स्थान पाउने साहित्यिक म्यागेजिन नेपाली थियो भने त्यस्तो प्रकाशन सम्भव तुल्याउन केकस्तो आधारभूमि चाहिन्थ्यो?

अध्येता शिव रेग्मीले अतीतका पाना (वि.सं. २०६३) मा देखाएजस्तै २००७ सालपछिको नेपालमा थरीथरीका व्यक्ति/संस्थाले विभिन्न म्यागेजिन प्रकाशन शुरू गरेका थिए। ती म्यागेजिनको अल्पायु थियो र दीपक अर्यालले मिडिया अध्ययनको छैटौं अंक (२०६८) मा भनेझैं तिनमा प्रायः साहित्यकारकै लेखनीले स्थान पाएका थिए।

तर, त्यसो भन्दैमा तिनमा कविता र आख्यान मात्रै छापिएका होइनन्; तिनमा साहित्यिक गैरआख्यान, निबन्ध, यात्रा निबन्धदेखि अनुसन्धानमूलक लेखसम्म छापिएका थिए। उत्तर राणाकालीन नेपालका इतिहासकार र समाज वैज्ञानिकका प्रारम्भिक कामहरू समेत तिनै म्यागेजिनमा प्रकाशित भए। त्यसैले ती अल्पायु म्यागेजिनहरूलाई हामी हाम्रा प्राज्ञिक जर्नलका पूर्वज पनि भन्न सक्छौं।

अहिलेसम्मको अध्ययनबाट म के भन्न सक्छु भने नेपाल सांस्कृतिक परिषद् पत्रिका (२००९–२०१४), प्रगति (२००९–२०१६), धरती (२०१३–२०१७) जस्ता म्यागेजिनले लामा गैर–आख्यानमूलक निबन्ध र अनुसन्धानमूलक लेखहरूको आधारभूमि तयार गरेका हुन्।

२०१६ सालमा प्रकाशन शुरू भएपछि नेपाली मा पनि त्यस्ता सामग्रीले स्थान पाउन थाले। अल्पायुका अरू थुप्रै पत्रिकाले त्यसै गरेका थिए, जस्तो– नेपाल सांस्कृतिक संघ (स्थापना २००७) ले २०१४ सालमा प्रकाशन गरेको जर्नल संस्कृति (जम्मा एक अंक) मा त्यस्ता लेखहरूको प्राधान्य थियो।

२०१५ सालदेखि प्रकाशन गर्ने योजना बनाए पनि २०१७ बाट मात्र शुरू भएको र एकताकाको नेपालकै प्रमुख म्यागेजिन हो, रूपरेखा। उमेरले केही महीना कान्छो भए पनि रूपरेखा ले नेपाली का पहिलो दुई दशकका लेखकलाई प्रभाव पारेको थियो भन्दा अत्युक्ति हुँदैन। पूर्णिमा (२०२१), प्राचीन नेपाल (२०२४) र प्रज्ञा (२०२७) जस्ता जर्नलहरूले पनि नेपाली का लेखकलाई प्रभाव पारेको हुनुपर्छ।

तीनः नेपाली का अन्तर्वस्तु
तेस्रो महत्वपूर्ण कथ्य नेपाली का अन्तर्वस्तुसँग सम्बन्धित छन्। यसका अघिल्ला १०६ अंकमा जम्माजम्मी ४८० ओटा सामग्री प्रकाशन भएको पूर्णप्रसाद अमात्यले २०४५ सालमा तयार गरेको सो पत्रिकाको लेखक/लेख सूचीले बताउँछ। यो सूचीले प्रारम्भका २७ वर्ष समेटेको थियो।

पछिल्ला ३० वर्षमा करीब उत्तिकै संख्यामा सामग्री प्रकाशन भएको अनुमान लगाउन सकिन्छ र समग्रमा यो ५६ वर्षमा करीब एक हजार सामग्री प्रकाशन भएको आकलन छ। यो निकै ठूलो संग्रह हो र सरसर्ती हेरेकै भरमा व्याख्या/वर्णन गर्न सकिंदैन।

केही तथ्यगत कुरा राख्नुअघि ती सामग्रीलाई राम्ररी पर्गेल्नै पर्छ। अच्युतरमण अधिकारीले नेपाली का शुरूका एक सय अंकको 'मूल्यांकन' गर्ने जमर्को गरेका थिए। उनको ३३८ पाना लामो विवरणात्मक मूल्यांकन नेपाली को १२२ औं अंक (२०४६) मा प्रकाशित भएको छ। र, सबै अंक सामेल भएको र आवधिक रूपमा अपडेट गरिने नेपाली को लेखक/लेख सूची तयार हुँदै गरेको बताइन्छ।

नेपाली को पहिलो सम्पादकीयले नेपाली वाङ्मयका सबै हाँगाबिंगालाई आफ्ना पानामा समेट्ने दाबी गरे पनि सृजनात्मक आख्यानप्रति यसको मोह देखिन्न। छोटा कथा–कहानीले नेपाली मा ठाउँ पाएको देखिंदैन।

त्यस्तै, प्रारम्भका केही अंकमा समेटिएको कविताले पनि पछि ठाउँ नपाएको देखिन्छ। तसर्थ, यो यस्तो साहित्यिक म्यागेजिन थियो जसले बेहिच्किचाहट अरू खाले निबन्धहरूलाई स्थान दियो।

केही निश्चित पुस्तक या नेपाली साहित्यको कुनै विधाको समीक्षा; यात्रा संस्मरण र पारिवारिक इतिहाससम्बन्धी निबन्ध; समाजका विभिन्न क्षेत्रका हस्तीहरूका व्यक्तिचित्र; नेपालको साहित्यिक, राजनीतिक, सामाजिक इतिहाससम्बन्धी अनुसन्धानमूलक निबन्ध; भाषा, साहित्य, धर्म, दर्शन, कृषि, विज्ञान, कानून आदि विभिन्न विषयमा छलफल/बहस अघि बढाउने निबन्ध आदि नेपाली का मूल सामग्री हुन्।

सम्पादक दीक्षितको निबन्धप्रतिको विशेष स्नेह र झुकावले नेपाली का सामग्री चयनमा प्रभाव परेको हो भन्ने मलाई लाग्छ।

यो म्यागेजिनले धेरै चिठीपत्र पनि छापेको छ। ती चिठीमध्ये केहीले कुनै विषयविशेषमा चर्चा गरेका छन् भने अरूले पूर्वप्रकाशित सामग्रीमा घुसेका तथ्यगत त्रुटिहरू उजागर गरेका छन्। पछिल्ला वर्षहरूमा आफ्नो गुणगान गाएका चिठीलाई पनि सम्पादक दीक्षितले स्थान दिएको देखिन्छ।

माथि उल्लिखित सामग्रीबाहेक नेपाली ले अन्य तीन विधाका सामग्री पनि छापेको देखिन्छ– (१) मदन पुरस्कार गुठीसम्बन्धी सूचना, आर्थिक कारोबार तथा पुरस्कार वितरण समारोहका समाचार र तस्वीर, (२) प्रायः दुई पाना लामा र मूलतः नेपाली भाषा र वाङ्मयसम्बन्धी केही महत्वपूर्ण विषयका सम्पादकीय (सम्पादकीय टिप्पणीमा नेपाली राजनीतिमा आएका परिवर्तनबारे विरलै चर्चा गरिएको पाइन्छ, यद्यपि २०४६ सालको प्रजातन्त्रको पुनरागमनलाई स्वागत गर्नुका अतिरिक्त भारतले हालसालै लगाएको नाकाबन्दीमा नेपाली जनताले खेप्नुपरेको सास्तीबारे सम्पादकीय टिप्पणी गरिएको छ) र (३) मदन पुरस्कार पुस्तकालयमा उपलब्ध पुस्तकहरूको सूची (प्रारम्भिक अंकहरूमा) अथवा त्यहाँ संगृहित र प्रकाशित/अप्रकाशित अभिलेख/पुस्तकमा आधारित टिप्पणी।

अप्रकाशित सामग्रीबारेका टिप्पणीहरूले कम उपयोग या विश्लेषण गरिएका सामग्रीप्रति पाठकको ध्यानाकर्षण गर्थे भने पुस्तकमाथिका टिप्पणी चाहिं प्रायः ती सामग्रीका केही अनौठा या रोचक विशेषतामाथि हुन्थे, जस्तो– तिनको आकार, अन्तर्वस्तु आदि। यसरी नेपाली का मूल अन्तर्वस्तु प्रायः बाहिरी लेखकजन र सहायक अन्तर्वस्तुहरू सम्पादक र मातृसंस्थाका अन्य सहकर्मीहरूले तयार गर्थे। त्यो पहिलो सम्पादकीयमा लेखिएबमोजिम नै 'अनौठो जमघट' को रूपमा क्रियान्वित हुँदै आएको देखिन्छ।

चारः नेपाली को योगदान
चौथो महत्वपूर्ण कथ्यचाहिं नेपाली को अभिलेखलाई मैले कसरी मूल्यांकन गर्छु भन्ने हो। साढे पाँच दशक चलेको पत्रिका/जर्नलले नेपाली समाजमा पुरुर्‍याएको योगदानको मूल्यांकन गर्न सहज छैन।

अधिकांश पत्रपत्रिका या म्यागेजिनको आयु साह्रै छोटो (दीक्षितको बोलीमा 'साविक रोग') हुने मुलुकमा त्यति लामो समय निरन्तर नेपाली प्रकाशन गरेर केही आधारभूत कुरामा ध्यान दिने हो भने 'अपवाद' निकाल्न सकिन्छ भन्ने तथ्य यसका दिवंगत सम्पादकले देखाए।

ती आधारभूत कुरा थिए– वार्षिक निश्चित पेजका सामग्री (चार अंकमा २०० पानाभन्दा कम), आकार (सधैं उही), प्रकार (साधारण र नबदलिएको), खर्चको जोहो (विज्ञापनमा अनाश्रित र मातृसंस्थाले बेहोरिदिएको) र प्रकाशित सामग्रीका विधा (मूलतः पाँचखाले सामग्रीमा सीमित)। पत्रिका र सम्पादक दुवैले यो कामबाट नाफा कमाउनु नपरेकाले पनि नेपाली को प्रकाशन सहज भएको थियो।

प्रारम्भिक दिनमा नेपालमा म्यागेजिन र पत्रिकाको बलियो सञ्जाल नभएका कारण साहित्यकार या निबन्धकार र अनुसन्धानतर्फ प्रवृत्त प्राज्ञिकहरूका लागि समेत नेपाली महत्वपूर्ण चौतारी भएको हुनुपर्छ।

पछिल्ला दिनमा धेरै साहित्यिक पत्रिका र प्राज्ञिक जर्नल उदाएसँगै तीसँग छापाको सार्वजनिक स्थानलाई नेपाली ले साझेदारी गर्नुपर्ने अवस्था भयो। नेपाली का सम्भावित लेखकका रोजाइमा अरू विधागत जर्नल समेत पर्ने भए। खासगरी आफ्ना विधागत आवश्यकताका कारण उनीहरूलाई विशिष्ट (स्पेसियलाइज्ड) जर्नलमा आफ्ना रचना प्रकाशन गर्नुपर्ने बाध्यता हुन गयो।

सम्पादक दीक्षितको ऊर्जा उनी संलग्न थुप्रै काममा नछिरलिएको भए र उनलाई सम्पादनमा सघाउने थप सहयोगी हात जुराएका भए सम्भवतः नेपाली ले आफ्नो अन्तर्वस्तु सृजना गर्ने चुनौतीलाई थप सृजनात्मक ढंगबाट सम्बोधन गर्थ्यो होला।

तथापि, समग्रमा भन्नु पर्दा, साढे पाँच दशकमा नेपाली को जुन बृहत् संग्रह तयार भएको छ त्यसलाई पाठकहरूले विभिन्न हिसाबले उपयोगी पाउनेछन्।

२०औं शताब्दीको इतिहासमा अभिरुचि राख्ने एक अध्येताका नाताले नेपाली का २२५ अंकलाई म उत्तर राणाकालका साहित्यिक र बौद्धिक सृजनामध्येको एउटा महत्वपूर्ण अभिलेखको रूपमा लिन्छु।

विशेषतः एक शताब्दीभन्दा लामो राणाकाल र त्यसपछिका ६५ वर्षमा आफूलाई 'आधुनिक' तुल्याउन नेपाली जनताले गरेका प्रयासबारे जान्न–बुझन यो संग्रह महत्वपूर्ण दस्तावेज बनेको मैले ठानेको छु। र, आउँदो वर्ष यो बृहत् अभिलेखसँग अलि गहन रूपमा झ्ुत्ती खेल्ने रहर पनि पालेको छु।
(वन्त मार्टिन चौतारीका शोध निर्देशक हुन्।)

प्रतिकृया दिनुहोस