मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र चार राज्य मन्त्रीले शपथ लिए
प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका छन् । सरकारमा थपिएका माओवादी केन्द्रका पाँच मन्त्री र चार राज्यमन्त्रीले आजै शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराइन् ।
राष्ट्रपति कार्यालयमा आज, ३० साउनमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु जनार्दन शर्मा (ऊर्जा), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र (राम) कार्की (सूचना तथा सञ्चार), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (बिना विभागीय)ले पद तथा गोपनीयताको शपथ लिए ।
पौडेललाई शिक्षामन्त्री नियुक्त गरिएको खबर सार्वजनिक भए पनि कांग्रेसले दाबी नछाडेपछि बिनाविभागीय मन्त्रीकोरुपमा शपथ खुवाइएको हो ।
चार नवनियुक्त राज्यमन्त्रीद्वारा शपथ
यसैगरी प्रधानमन्त्री दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जगेबु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराएका हुन् ।
वर्तमान मन्त्रिपरिषद्मा राज्यमन्त्रीत्रय जगेबुले (सङ्घीय मामिला तथा स्थानीय विकास) भगतले (ऊर्जा) र तामाङले (कृषि विकास) मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । राज्यमन्त्री विकलाई भने अहिले कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।
चारैजना नेकपा माओवादी केन्द्रका सांसद हुन ।