त्रिशुलीमा ट्रक खस्यो
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा नजिक त्रिशुलीनदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ ।
७ माघमा चितवनबाट काठमाडौँ जाँदै गरेको कन्टेनर ट्रक अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा घाईते भएका ट्रकका चालक मकवानपुर पदमपोखरीका ३० वर्षीय विवेक थिङको उपचारका क्रममा मृत्यु भएको हो ।
घाईते सहचालक सोही ठाउँका १६ वर्षीय रोजन तितुङको मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
त्यस्तै ७ माघ बिहान पौने ७ बजे हेटौडा–१० बैंकरोडमा पैदल हिडिरहेकी हेटौडा–१० मेनरोड निवासी ३५ वर्षीया ज्ञानुलक्ष्मी श्रेष्ठलाई नम्बर नखुलेको जिपले ठक्कर दिंदा उनको ज्यान गएको छ ।
उनी नौ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी श्रेष्ठको चुरेहिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।