राप्रपाका वडा, गाउँ, नगर अधिवेशन शुरु
राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन आजदेखि शुरु भएको छ ।
देशभर शुरु भएको वडा, गाउँ, नगरको अधिवेशन महाधिवेशन १५ माघसम्म जारी रहने र २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।
आगामी ६ देखि ९ फागुनसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुने छ ।
फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम आइसक्ने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए ।
राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भएको छ ।
रासस