पुनःसंरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्छः देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
काँग्रेस क्षेत्र नं ५ चितवनले ६ माघमा पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरावलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए ।
स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै उनले भने, “दुई÷तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ ।”
मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै देउवाले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसबाट नै देशमा स्थायी शान्ति हुन्छ ।” रासस