देशभर ‘फोर जी’ सेवा सञ्चालन हुने
सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।
नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको ९चौथो पुस्ता दूरसञ्चार प्रविधि० फोर जीलाई क्रमशः प्रमुख शहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो ।
टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागेको छ । ग्राहकको रुचि बढेकाले फोर जी सेवालाई अब देशका अन्य प्रमुख शहरमा लैजाने प्रक्रिया सुरु गरिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिए ।
व्यवस्थापिका–संसद्को विकास समितिको बैठकमा टेलिकमको सेवा गुणस्तरबारे जानकारी दिँदै राजभण्डारीले फोर जीलाई आइफोनमा पनि चलाउने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक सुधारका काम सुरु गरिएको बताए ।
के हो फोर जी ?
मोबाइल इन्टरनेटमा चौथो पुस्ताको फोर जी सेवा थ्री जी भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ । यो सेवाको इन्टरनेटमा उच्च गतिको अडियो एवम् भिडियो फाइल सजिलै खोल्न सकिन्छ । फोर जी खास गरी भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, न्यूज, टेलिमेडिसिनजस्ता उच्च गतिको इन्टरनेटमा आधारित सेवाका लागि उपयोगी हुन्छ । टेलिकमको फोर जी सेवा हाल ब्याण्ड थ्रीअन्तर्गत १८०० मेगाहर्जमा सञ्चालन गरेको छ । यो सेवा हाल टेलिकमको पोष्टपेड सिममा मात्र चल्छ ।
प्रिपेड मोबाइलमा पनि फोर जी
हाल पोष्टपेडमा मात्र उपलब्ध गराएको फोरजी सेवा आगामी माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सेवा काठमाडौँ र पोखराका जीएसएम पोष्टपेडका तीन लाख ५० हजार ग्राहकले मात्र पाउनेछन् ।
टेलिकमले सुरु गरेको फोरी जी सेवाको १५ दिनमै ४१ हजार ग्राहकले सेवा लिएको टेलिकमले जनाएको छ । ग्राहकको उत्साहलाई मध्यनजर गरी सेवा विस्तार गर्ने टेलिकमको योजना रहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताए ।
टेलिकमको यो प्रयासलाई संसद्को विकास समितिले पनि चासो जनाउँदै फोर जी सेवालाई प्राधिकरणले स्वीकृति दिएको एक वर्षभित्र देशैभर विस्तार गर्न निर्देशन दिएको छ । रासस