लोकमानमाथि छानबिन गर्न उपसमिति गठन
व्यवस्थापिका–संसद्को महाभियोग छानबिन समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा उल्लेख आरोपको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको ५ माघको बैठकले महान्यायाधिवक्ताको धारणा बुझिसकेपछि महाभियोगमा लगाइएको आरोप सत्य हुन वा असत्य हुन त्यसमा कति सत्यता छ भनेर छानबिन र अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरिएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।
उपसमितिमा नेपाली काँग्रेसका दीपक कुइँकेल, नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र नेकपा (एमाले)का तर्फबाट सांसद भण्डारी रहेका छन् ।
सर्वोच्च अदालतबाट कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिको लागि अयोग्य ठहर गरी पदमुक्त भइसकेको हुँदा त्यस विषयलाई भने समितिले आजैबाट छलफलमा नल्याउने निर्णय गरेको छ ।
तर, कार्कीले गरेको पदीय दुरुपयोगका बारेमा लागेको आरोप र महाभियोग प्रस्तावमा लेखिएका कसुरका सम्बन्धमा छानबिन गरी सदन समक्ष प्रतिवेदन पेस गर्न कुनै बन्देज नरहेकाले छानबिनलाई भोलिबाट तीव्ररुपमा अघि बढाइने समितिका सदस्य विडारीले जानकारी दिए ।
उपसमितिको प्रतिवेदन छलफलबाट पारित भएपछि समितिमा आएको मितिले ३० दिनभित्रै संसद्मा पठाइनेछ ।
संविधान र नियमावलीले पदमुक्त गरेको व्यक्तिसँग सोधपुछ र छानबिन गर्न सकिने प्रष्ट व्यवस्था भएकाले आवश्यकता भएको खण्डमा लोकमानसिंह कार्कीलाई समेत बोलाउन सकिने सांसद भण्डारीले जानकारी दिए ।
उनले भने, “नियुक्ति वदर भए पनि उसले गरेको काम कारबाहीलाई हेर्न सकिने कानुनी प्रावधान छ ।” व्यवस्थापिका–संसद्का १५७ जना सदस्यले कार्कीविरुद्ध गत कात्तिक १४ गते महाभियोगसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । रासस