मेरो ५२ वर्षे राजनीति देशको हितका लागि: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।
एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को आज लोकार्पण गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको दाबी गरे ।
“मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, मैले जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ,” ओलीले भने ।
ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्ने बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरे । उनले भने, “जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड हो ।”
जन्मोत्सवसँगै पुस्तक विमोचन
नेता नेपालको ६४ औँ वर्ष दिनका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले ‘सूर्य अङ्कित केक’ काटेका थिए ।
नेता नेपालको पुस्तक मुलुकका राजनीतिक विसङ्गतिमा केन्द्रित रहेको समालोचक डा कुमारप्रसाद कोइराला र गीता त्रिपाठीले टिप्पणी गरे ।