नारायणगढ–मुग्लिन सडकमा लक्ष्यअनुरुप काम हुन सकेन
नारायणगढ–मुग्लिन सडकखण्डमा सडक विस्तारको कार्य लक्ष्यअनुसार भइरहेको छैन । पहिरो खसेका कारण सडक विस्तार कार्य प्रभावित भइ ढिलो हुन पुगेको आयोजनाले जनाएको छ ।
सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २३ दशमलव ५ प्रतिशतमात्रै काम भएको छ ।
जेठ मसान्तसम्ममा २१ दशमलव ४ प्रतिशत काम भएकामा गत दुई महिनामा २ दशमलव १ प्रतिशतमात्रै काम भएको उनले बताए ।
जेठ र असारमा निरन्तर पहिरो खसे पनि साउन महिनामा भने ठूला पहिरा दुईपटक मात्रै खसेका थिए ।
यद्यपि सानातिना पहिरो खसिरहने, खाल्टाखुल्टी बढी भएकाले ठेकेदारले राखेका मजदुर कर्मचारीले विस्तारको कामभन्दा बढी ती काममा व्यस्त हुनुपर्दा लक्ष्यअनुरुप काम हुन नसकेको आयोजनाको दाबी छ ।
वर्षाका कारण कमजोर ठाउँमा भित्ता काट्न नमिलेको र अहिले दासढुङ्गाको मोडमा र जलवीरेमा मात्रै भित्ता कटानको काम भइरहेको खनालले बताए ।
अहिले काम गर्न गाह्रो भएको भन्दै ठेकेदार कम्पनीहरुले मजदुर कर्मचारीसमेत न्यून मात्रामा राखेका छन् ।
वर्षापछि लगत्तै चाडबाड आउने हुँदा छठ पर्वसम्म लक्ष्यअनुरुप काम गर्न नसकिने खनालले बताए ।
त्यतिबेला एकातर्फ बाटो रोकेर काम गर्न मिल्दैन भने अर्कोतर्फ मजदुर कर्मचारी बिदामा बस्ने हुँदा लक्ष्यअनुरुप काम हुन नसक्ने उनको भनाइ छ ।
ठेक्का दिँदा विसं २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ ।
रासस