नेपाल पृथ्वीनारायणले बनाएका हुन, उनको सम्मान गरौंः गृहमन्त्री निधि
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आजको नेपालको निर्माण पृथ्वीनारायण शाहले गरेको भन्दै उनीप्रति नेपालीले गौरव र सम्मान गर्नुपर्ने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँगको भिडियो अन्तर्वार्तामा निधिले यस्तो बताएका हुन् ।
विजयकुमारः पृथ्वीनाराण शाहका बोरमा तपाईको धारणा के छ ?
निधिः पृथ्वी नारायण शाहलाई विवादको व्यक्ति बनाउनु हुँदैन । मेरो बुझाईमा पृथ्वीनरायण शाह र नेपाल भनेको पर्यावाची जस्तो भएको छ । आज जुन नेपालमा हामी छौं त्यो पृथ्वीनरायण शाहले बनाएको नेपाल हो भन्ने तथ्यलाई हामीले कहिल्यै विर्सनु हुँदैन ।
उनलाई नेपाल निर्माताका रुपमा सम्मानका साथ सम्झनु पर्छ । उनको बेला नेपालमा मात्रै होइन संसारभर सामन्ती, अधिनायकवादी शासन व्यवस्था थियो । (त्यसबेला कतै पनि आजको जस्तो लोकतान्त्रिक शासन प्रणाली थिएन)
यद्यपी त्यो एकीकरण नभई गोर्खा राज्यको विस्तार भएको पनि भनिन्छ । तर विस्तार, एकीकरण वा एकता के भएको हो त्यो छलफलको विषय हुनसक्ला । मेरो विचारमा एकीकरण उनको पहिलो योगदान हो । अब यसलाई राष्ट्र निर्माण वा एकता दिवसको रुपमा मनाउने कि नमनाउने भन्ने राजनीतिशास्त्र र दर्शनका सिद्धान्त र परिभाषासँग जोडिएको बहस हो ।
यो देशनिर्माण हो की राष्ट्रनिर्माण हो भन्ने बहस पहिलेदेखि नै छ । यसबारे वीपी कोइरालाको पनि अली फरक दृष्टिकोण थियो ।
तर, यि सबै बहस हुँदाहुँदै पनि तथ्य चाहीँ के हो भने आजको यो नेपाल जुन छ त्यो पृथ्वीनारायण शाहले गर्दा छ । यो योगदान नेपालीले कहिले पनि विर्षने विषय होइन, यो गौरबको विषय पनि हो ।
त्यसैले सम्पूर्ण नेपालीले पृथ्वीनारायण शाहलाई सम्मानपूर्वक हेर्नुपर्छ ।
विजयकुमारःनेपालमा राजतन्त्रवादीले पृथ्वीनारायण शाहलाई आफ्नो निजी मान्ने र गणतन्त्रवादीहरु चाहीँ हच्कने जस्तो देखिन्छ नी ?
निधिः हेर्नुस यो समाजको विकास क्रमलाई हेर्ने हो भने विभिन्न समयमा विभिन्न खालको शासनप्रणालीको विकास भयो ।
तर, अहिले कसैले राजतन्त्र फर्काउन पृथ्वी जयन्ती मनाउनु पर्छ भन्छ भने त्यो उसको मुर्खता हो, ऊ कुपमण्डुक हो । कोही त्यसैमा रमाउँछ भने रमाओस, केही भएन ।
अर्कोतर्फ आधुनिक युगमा गणतन्त्रात्मक प्रणालीलाई लोकतान्त्रिक प्रणालीको सर्वोत्तम रुप मानिन्छ । तर हामी गणतन्त्रवादी हौं भन्दैमा इतिहासमा राजाले गरेको देश–समाजको एकीकरणलाई, इतिहासमा गरिएका योगदानलाई विर्सनुपर्छ, मान्नु हुँदैन भन्ने होइन । त्यस्तो सोच्नु अर्को संकिर्णता हुन्छ ।
त्यसबेलाको समाज अनुसार त्यसबेलाका अगुवा, शासकले तदनुरुपको भूमिका निर्वाह गरे कि गरेनन् त्यसअनुसार हेर्नुपर्छ । आज सञ्चारका लागि मोबाइल फोन छ भन्दैमा पहिले कटुवालले सूचना दिएको वा हुलाकको योगदानलाई विर्सन मिल्दैन नि ।
पृथ्वीनारायणले इतिहासमा गरेको योगदानको उचित मूल्यांकन गर्दैमा हामी गणतन्त्रको धारबाट विचलित हुन्छौं भन्नु लघुताभाष मात्रै हो । दुवै अतिवादी सोच हुन् ।
आज नेपाल जुन छ त्यो पृथ्वी नारायण शाहले बनाएको नेपाल हो उनलाई सम्मान गर्नैपर्छ । उनले जसरी गरेको भए पनि आजका मितिमा परिणम जे छ, त्यसलाई ग्रहण गरिनुपर्छ ।