रक्सौल–अमेलखगञ्ज पाइपलाइन निर्माणमा भारतीय तत्परता
भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि पेट्रोलियम पाईप लाईन निर्माण गर्न भारतीय पक्षले तत्परता देखाएको छ ।
रकसौलदेखि अमेलखगञ्जसम्म पाइपबाट इन्धन आपूर्तिका लागि ३७.३४ किलोमिटर लामो पाइपलाइन निर्माण गर्न चाँडै नै प्राविधिक प्रतिवेदन तयार पारी कार्य प्रराम्भ गरिने प्रोजेक्ट आयल निगमका तर्फबाट परियोजना संयोजक भानुभक्त खनालले जानकारी दिए ।
पाइपलाइन रक्सौलबाट वीरगञ्जस्थित शंकराचार्य गेट हुँदै गण्डक नहरसम्म वाईपास सडकको दायाँतर्फबाट र त्यसपश्चात त्रिभूवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको बायाँतर्फबाट निर्माण गर्न लागिएको हो ।
सडकको २५ मिटरभित्र पर्ने गरी पाईप लाईन निर्माण गर्न लागिएकाले मुअव्जा लगायतका अन्य अवरोध नहुने भन्दै नेपाल आयल निगमले सडक क्षेत्रबाटै पाईप लाईन निर्माणको तयारी गरेको छ ।
बाराको परवानीपुरमा रहेको जामे मस्जिदको केहीभाग सडकको २५ मिटरभित्र पर्ने भए पनि त्यस विषयमा स्थानीयसँग समन्वय गरी मिलेसम्म सडकबाट अन्यथा पुरानो रेल्वेको लाईन हुँदै विस्तार गरिने को–अर्डिनेटर खनालले बताए ।
उनका अनुसार भारतीय र नेपाली दुबैपक्षका प्राविधिकहरु मिलेर चाँडै नै प्रविधिक प्रतिवेदन तयार गरी कार्यप्रराम्भ समेत हुनेछ ।
भारु २ अर्ब ७५ करोड लगानीमा निर्माण हुन लागेको उक्त पाईप लाईनमा भारतको दुई अर्ब र नेपालको ७५ करोड भारु लगानी हुनेछ । निर्माण शुरु भएको ३० महिनाभित्र पाईप लाईन तथा डिपो सुधारका कार्य सम्पन्न गर्ने लक्ष्य निगमले राखेको छ ।
सडकको क्षेत्राधिकार भित्र निर्माण गर्न लागिएको पाईप लाईन १.५ मीटर गहिराइमा ओच्छ्याइनेछ भने खोला र अन्य स्थानहरुमा आवश्यकता अनुसार १५ मिटरसम्म गहिरो बनाइनेछ ।
भारतीय तत्परता
भारत केन्द्र सरकारको मन्त्रीस्तरीय टोलीले बिहारका स्थानीय अधिकारीलाई पाईप लाईन आफ्नो सरकारको प्राथमिकतामा रहेको जनाउँदै चाँडै कार्यप्रराम्भका लागि निर्देशन दिएको छ ।
यसैबीच गत साता सिमावर्ती पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले रक्सोल–अमलेखगंज पेट्रोलियम पाईप ओछ्याउने काम अघि बढाईएको भन्दै योजनामा सहजीकरणका लागि निर्देशन दिएका थिए ।
भारतीयपक्षसँग समन्वय गर्दै यताको काम अघि बढिसकेको नेपाल आयल निगमको तर्फबाट पाईप लाईन योजनाका संयोजक भानुभक्त खनालले बताए ।
“अहिले बिजुलीका खम्बा लगायत बाधा हटाउने काम शुरु भइसकेको छ । सडक विभागसँग समन्वय हँुदैछ । काम नरोकिई अघि बढ्छ,” उनले भने ।
पाईप लाईन मार्फत पेट्रोलियम पदार्थ आयात गर्दा आपूर्ति सहज हुने ढुवानी लगायत अन्य नोक्सानी लागत घटेर वार्षिक रु ५५ देखि ६० करोड बचत हुने निगमको अनुमान छ ।
नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सौल नाकाबाट ट्यांकरले भित्र्याउँछन् ।
बाराबाट श्याम गुप्ता