शनिश्चरे शिविरका शरणापेक्षी भुटानीद्वारा आत्महत्या
नेपाल सरकारबाट शरणार्थी परिचयपत्रको पर्खाईमा रहेका एकजना भुटानीले आत्महत्या गरेका छन् ।
पूर्वी मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरको सेक्टर– ‘सि’ छाप्रो नम्बर ६५ मा श्रीमती जुनु र छोरीका साथ बस्दै आएका २४ वर्षीय अर्जुन तामाङका ससुराली दुई साताअघि मात्रै पुनर्वासमा अमेरिका गएका थिए ।
दर्ता नहुँदा शरणार्थीले पाउने सहायता नपाइरहेको पीडामाथि आफन्त पनि टाढा पुगेपछि उनी अस्वस्थ्य हुन पुगेको गाउँलेहरु बताउँछन् ।
उनले करिब ६ महीनाअघि मात्रै शनिश्चरे शरणार्थी शिविरका सचिब चम्पसिंह राईलाई आफूलाई शरणार्थीमा दर्ता गरिदिन माग गर्दै निवेदन दिएका थिए ।
उनको निबेदन सहितको सिफारिस शिविर सचिब राईले सरकारको शरणार्थी समन्वय एकाईमा पठाएका थिए ।
यहाँका शरणार्थी शिविरहरुमा दर्ता र सहायताबाट वञ्चित १ हजार ६४१ भुटानी छन् । विभिन्न कारणले गर्दा दर्ताका बेला शिविरमा नरहेका भुटानीले शरणार्थी परिचय पत्र पाउन नसकेका हुन् ।
कतिपय त्यस्ता भुटानीका आफन्त युरोप र अमेरिका पुनर्वास भइसकेका छन् ।
आफन्तहरु पुनर्वास भइसकेका त्यस्ता शरणापेक्षी भुटानी मानसिक समस्याको चर्काे शिकार बनेका छन् ।
दर्ताविहिन अर्का एक शरणापेक्षीले बेलडाँगी शिबिरमा पनि आत्महत्याको प्रयास गरेको बताइएको छ ।
सन् २०११ देखि २०१६ सम्म ६ वर्षको अवधिमा ४२ जना भुटानी शरणार्थीले आत्महत्या गरिसकेका छन् भने २२३ जनाले त्यस्तो प्रयास गरेका छन् ।
“शिविर बाहिर सस्तोमा मदुरी गरेर पालिएका छौं, कामै नपाइने समस्या पनि उत्तिकै छ” दर्ताबिहिन एकजना शरणार्थी महिला सनमाया गुरुङले भनिन्, “हामीमध्ये धेरैलाई भोकै कहिलेसम्म बाँच्नु भन्ने लागिरहेको छ ।”
गोपाल गड्तौला, झापा