कास्कीमा झारलको मासु सहित २ पक्राउ
कास्कीको माछापुच्छ्रे स्थित कपुचे वन क्षेत्रबाट झारल र प्युरा चराको मासु सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घर भई हाल माछापुच्छे« गाविस–९ बस्ने ४० वर्षीय मेङ लामा र २५ वर्षीय कृष्ण तामाङ छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रबाट संकटोन्मुख झारल (हिमालयन थार) र २ वटा प्युरा चराको मासु शिकार गरेर ल्याउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
माछापुच्छ्रे गाविसको करुवामा अवैध भरुवा बन्दुक रहेको थाहा पाएपछि प्रहरी उनीहरुको घर पुगेका थिए ।
घर पुग्दा बन्दुक र मान्छे नभेटिएपछि प्रहरी जंगलतर्फ जाँदै गर्दा उनीहरुले झारल र प्युरा चराको मासु बोकेको थैला छोडेर भागेका थिए ।
प्रहरीले हिरासतमा लिएपछि उनिहरुले झारल र प्युरा चरा ३ दिन अघि नै भरुवा बन्दुकको प्रयोग गरी मारेको स्विकार गरेका छन् ।
उनीहरुले जंगलमै मासु सुकुकाएर सुकुटी बनाएर ल्याएका थिए । मासु सहित प्रक्राउ गरिएपछि दुबै जनालाई अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना एक्यापमा बुझाएको वडा प्रहरी कार्यालय बगका प्रमुख ईन्सपेक्टर किशोर लम्सालले जानकारी दिए ।
वन्यजन्तु चोरी शिकारीमा संलग्न दुबैलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संपर्क अधिकारी ऋषि ढकालले जानकारी दिए ।
भरुवा बन्दुक सहित एक पक्राउ
वडा प्रहरी कार्यालय बगरले २ नाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । माछापुच्छे« गाविस वडा नम्बर ९ का होमबहादुर मगरको घरबाट अबैध रुपमा राखिएको २ नाले भरुवा बन्दुक फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर किशोर लम्सालले बताए ।
खाटमा सिरकले छोपेर राखेको अवस्थामा ३ फिट १० इन्चको भरुवा बन्दुक फेला परेको उनले बताए । मगरलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले बताए ।