पर्साः जनस्वास्थ्य अधिकृतको कार्यकक्षमा तोडफोड
स्वास्थ्य चौकीको ईन्चार्जको जिम्मेवारी नदिएको भन्दै आन्दोलनरत पर्साका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत हेल्थ असिस्टेन्टहरुले २२ पुसमा जिल्ला जनस्वास्थ्य अधिकृतको कार्यकक्षमा तोडफोड गरेका छन् ।
माग सम्बोधनका लागि प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डित गम्भीर नभएको भन्दै आक्रोशित हेल्थ असिस्टेन्टहरुले अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
तोडफोडपछि पनि कार्यकक्ष घेराउ गरेर बसेका ३१ जनालाई प्रहरीले पक्राउ लगेको छ ।
कार्यकक्ष खाली गर्न नमानेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए ।
हेल्थ असिस्टेन्टहरुले जनस्वास्थ्य अधिकृतको कार्यकक्षमा राखिएका दुईवटा टेबल र एउटा कम्प्युटरको हार्डडिक्स तोडफोड गरेको ढुंगानाले बताए ।
कार्यालय प्रमुखसँग विवाद भएपछि आक्रोसित हेल्थ असिस्टेन्टहरुले टेबल कुर्सी तोडफोड गरेको हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय सदस्य अनिलकुमार यादवले स्वीकार गरे ।
“छलफल हुँदै गर्दा प्रमुख जनस्वास्थ्य अधिकृतले प्रहरीलाई बोलाउनु भयो,” यादवले भने, “त्यसपछि बाहिरका मानिसहरु आएको जसरी प्रहरी बोलाउने भन्दै आक्रोशित साथीहरु तोडफोडमा उत्रिए, प्रहरी आउनुअघि नै हामीले साम्य पारिसकेका थियौं ।”
हेल्थ असिस्टेन्टहरुको मागका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा दुईपटक छलफल भईसकेको भए पनि जनस्वास्थ्य कार्यालयले कुनै निर्णय दिन नसक्दा समस्या यथावत छ ।
स्वास्थ्य चौकीको ईन्चार्ज सिनियर अहेव नभई हेल्थ असिस्टेन्ट नै हुने भन्दै मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पुनरावेदन अदालतले निर्णय गरिसकेको भए पनि, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वास्ता नगरेको भन्दै हेल्थ असिस्टेन्टहरु गत आइतबार देखि आन्देलनमा छन् ।
स्वास्थ्य संस्थामा नबसी हेल्थ असिस्टेन्टहरु सदरमुकाममा आएर आन्दोलन गरिरहेका कारण ग्रामिण क्षेत्रका सेवाग्राहीहरु भने मर्कामा परेका छन् ।
सुरेश बिडारी, वीरगञ्ज