मदन पुरस्कार पुस्तकालयको ‘रेफरेन्स सेवा’ सञ्चालनमा
मदन पुरस्कार पुस्तकालयले गतवर्षको भूकम्पपछि बन्द भएको ‘रेफरेन्स सेवा’ ४ असोजदेखि सञ्चालनमा ल्याउने भएको छ ।
भूकम्पले मदन पुरस्कार पुस्तकालयको भवनमा क्षति पुर्याएपछि उक्त भवन भत्काएर नयाँ भवनको निर्माण नगर्दा सम्म पुस्तकालयले आफ्नो ‘रेफरेन्स’ सेवा बन्द गरेको थियो । अहिले सोही स्थानमा नयाँ भवन बनाएको पुस्तकालयले ४ असोज देखि सेवा आंशिक रूपमा पुन: सञ्चालनमा आउने जानकारी गराएको छ ।
रेफरेन्स सेवा अन्तर्गत पुस्तकालयमा रहेका ३४ हजार पुस्तक (कानून, इतिहास, संस्कृति, कृषि, शिक्षा, भाषा, साहित्य आदि क्षेत्रका) डिजिटाइज्ड गरिएका पत्रपत्रिका, पर्चा-पम्पलेट तथा फोटोहरू समावेश हुने पनि पुस्तकालयले जनाएको छ ।
पुस्तकालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पत्रपत्रिकाहरू व्यवस्थित गर्न अझ केही समय लाग्ने भएकाले पहिले नै ‘डिजिटाइज्ज’ भएका वा माइक्रोफिल्म गरिएका पत्रपत्रिकाहरू मात्र अध्ययनका लागि उपलब्ध हुनेछन्।"
मदन पुरस्कार पुस्तकालयले भूकम्प पछिको समयमा पत्रपत्रपत्रिका, पाण्डुलिपी तथा पुस्तकहरूका झण्डै एक लाख पृष्ठ सामग्री डिजिटाइज्ड गरिसकेको छ जुन अध्ययनका लागि उपलब्ध हुनेछन्।
भूकम्प र भूकम्प पछिको वर्षाको कारणले केही पुस्तक, पत्रपत्रिका तथा फोटोग्राफहरूमा हानी पुगेका थिए। हाल ‘कन्जर्भेसन’को काम जारी छ। यसका अतिरिक्त पुस्तकालयले भूकम्पका कारण जोखिममा परेका काठमाडौं उपत्यकाका कतिपय व्यक्तिहरूको सङ्कलनमा रहेका सामग्रीहरूलाई पनि सुरक्षित पार्ने काममा सघाउँदै आएको छ।