भारतमा माटोको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु
भारतको हिमाञ्चल प्रदेशमा हिंजो २० पुस साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
हिमाञ्चलको सिमला जिल्लाको रामपुर तहसिलमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए ।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् ।
“तीनजनाको शव ढिस्कोबाट निकालिएको छ,” विष्टले भने, “थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।”
६ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल छन् ।
भारत सरकारले उक्त सडक ठेकेदार कम्पनीमार्फत खनाइरहेको थियो । “हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ,” विष्टले भने “म यहाँ अर्कै साइटमा थिएँ ।”
रासस